
काठमाण्डु, १ माघ – एकीकृत नेकपा माओवादीले नयाँ संविधान निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।
अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गराउन मन्त्रिरिषदबाट मनोनित हुने २६ जना सभासदहरु मध्ये एकजना अपाङ्गता भएका व्यक्तिको मनोनयन गर्ने बताए ।
अपाङ्गता भएका समुदायप्रति पार्टी संवेदनशील रहेको र पार्टीका हरेक निकायमा यो समुदायको प्रतिनीधित्वलाई सुनिश्चित गराउँदै राज्य प्रदत्त सेवा, सुविधा र सहुलियत उपलब्ध गराउन ध्यान दिने पनि उनको आश्वासन छ ।
अध्यक्ष प्रचण्डले अपाङ्गता मैत्री कानुनी संरचना तथा भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनेसमेत बताएका छन् ।