डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाण्डु टुडे २०७० माघ १ गते ८:०३ मा प्रकाशित

Dr.Gobinda-KCकाठमाण्डु, १ माघ – विभिन्न सात सुत्रीय माग राखी आमरण अनशनमा बसिरहनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

केसीको रगतमा अक्सिजनको मात्रा कम भएको केसी बचाऊ अभियानका संयोजक चिकित्सक डा. राजेन्द्र वाग्लेले जानकारी दिए ।

‘उहाँको रगतमा अक्सिजनको मात्रा कम भएको छ,’ उनले भने, ‘मुटुको धड्कन बढ्दो र पिसाब कम हुने(एसिटोल) अवस्था देखिएको छ ।’

त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा. शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका माग गर्दै केसी तेस्रो पटक पुस २७ गते शनिबारदेखि अनशन बसेका हुन् ।

केसीको अनशनप्रति समर्थन जनाउँदै त्यहाँ कार्यरत चिकित्सक, परिचारिका, प्राविधिक तथा कर्मचारीले आकस्मिक र अन्तरङ्ग सेवाबाहेक अन्य सेवाहरु ठप्प पारेका छन् ।

केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपनि अक्सिजन र सलाइनबाट मात्र उपचार भइरहेको उनको उपचारमा संलग्न अर्का चिकित्सक प्रा.डा. महेशराज सिग्देलले दिए ।

यसैबीच, केसीको अनशन लिएर त्रिविका उच्च पदाधिकारीको बैठक बसिरहेको छ ।

साँझसम्ममा समस्याको समाधान आउने बताइएको छ । ‘हामीले त्रिविका सबै पदाधिकारीलाई समस्या समाधान गर्न आग्रह गरिसकेका छौँ,’ शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us