तेह्र वर्षपछि प्रहरी चौकी स्थापना

काठमाण्डु टुडे २०७० माघ १ गते ७:४३ मा प्रकाशित

पर्वत, १ माघ – सशस्त्र द्वन्द्वका कारण  स्थापना हुन नसकेको जिल्लाको एक प्रहरी चौकी १३ वर्षपछि स्थापना गरिएको छ । विसं २०५७ मा स्थापना गर्नुपर्ने पर्वतको भंगरा प्रहरी चौकी १३ वर्षपछि बुधबार स्थापना गरिएको हो ।

चौकीमा एक जना सहायक प्रहरी निरीक्षकसहित ६ जना प्रहरी खटिएका छन् । पर्वतमा योसँगै २४ वटा प्रहरी एकाइ पुगेका छन् । जिल्ला प्रहरी कार्यालय, तीन इलाका प्रहरी कार्यालय र २१ प्रहरी चौकी रहेका छन् ।

विसं २०५७ मा चौकी स्वीकृत भए पनि द्वन्द्वका कारण स्थापना हुन सकेको थिएन  । पछिल्लो समयमा पनि जनशक्ति अभावका कारण चौकी राख्न नसकिएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

विसं ‘२०५७ देखि नै दरबन्दी कायम थियो तर द्वन्द्व र अन्य कारणले चौकी स्थापना हुन सकेको थिएन’ उनले भने ।

गत वर्ष पनि भोर्ले र भुकदेउरालीमा चौकी पुनःस्थापना गरिएको थियो । चौकीको भाडा गाविसले तिर्ने गरी अस्थायी व्यवस्था मिलाइएको छ । चौकीको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गरे ।

भंगारा गाविसका सचिव तिलकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रनाउ श्यामकृष्ण अधिकारी, ग्रामोदय मावि भंगराका प्रधानअध्यापक नरेन्द्रप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us