ओपीडी बन्द गरी राष्ट्रपतिको दाँतको उपचार

काठमाण्डु टुडे २०७० माघ १ गते १२:०७ मा प्रकाशित

bir-hospitalकाठमाण्डु, १ माघ– नेपालकै सबैभन्दा जेठो बीर अस्पतालले सर्बसाधारण विरामीको उपचार बन्द गरेर राष्ट्रपति डा. रामवरण यादवको दाँतको उपचार गरेको छ । राष्ट्रपतिको दाँतको उपचारको लागि अस्पताल प्रशासनले बुधबार विहान बहिरङ्ग विभागका सबै सेवा बन्द गरेको हो ।

आकस्मिक रुपमा सेवा बन्द गरिएपछि उपचारको लागि अस्पताल गएका विरामीहरु अलपत्र परेका छन् । राष्ट्रपति यादव भने दाँतको उपचार गरी शितल निवास फर्किएका छन् ।

स्रोतका अनुसार अस्पताल प्रशासनले बुधबार विहान ८ बजे बैठक बसेर ओपीडी सेवा बन्द गर्ने आकस्मिक निर्णय गरेको थियो ।

अस्पताल प्रशासनले भने माघे संक्रान्तिको सार्वजनिक विदा परेकोले सेवा बन्द गरिएको जनाएको छ । तर, अन्य सार्बजनिक विदाको दिनमा भने ओपीडी सेवा खुल्लै राखिन्थ्यो । गएको ल्होसार पर्वमा पनि बीर अस्पतालको ओपीडी सेवा खुला थियो ।

राष्ट्रपतिको दाँत फेर्न अरु विरामीको उपचार नै रोकिएको भन्दै अस्पताल पुगेका सर्वसाधारण रुष्ट भएका छन् । ‘गणतन्त्र आएको बेला पनि हाम्रा राष्ट्रपतिले राजतन्त्रको झल्को दिए,’ कीर्तिपुरबाट आफ्नो छोरोलाई उपचार गर्न विहानै बीर अस्पताल आएकी ४५ बर्षीया सुशीला खड्काले भनिन्, ‘हामी कहाँ जाने ?’

उपचार सस्तो हुने भएकोले निम्नस्तरका सर्वसाधारण विरामीको बीर अस्पतालमा सँधै चाप हुने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us