लाईसेन्सको लागि अन्तर्राष्ट्रियस्तरको तालिम

काठमाण्डु टुडे २०७० माघ १ गते ४:०१ मा प्रकाशित

काठमाण्डु, १ माघ–सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को व्यावहारिक (ट्रायल) परीक्षाका लागि नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको व्यावहारिक परीक्षण ‘भेइकल प्रिटेस्ट’ सञ्चालनमा आएको छ । भेइकल प्रिटेस्ट सेन्टरले उपत्यकामा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको अत्याधुनिक सुविधा सम्पन्न सवारीचालकसम्बन्धी नयाँ व्यावहारिक परीक्षण सेन्टर सुरु गरेको हो । बढ्दो सवारी दुर्घटना न्यूनीकरणको साथै अहिले बढ्दो लाइसेन्स परीक्षा प्रणालीलाई समेत समस्या र समाधानको उपाय दिन सकिने गरी सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

सरकारलाई ससर्त वा निःसर्त रुपमा लाइसेन्स ट्रायल सञ्चालन गर्न सकिने गरी मापदण्डअनुरुप अत्याधुनिक ट्रायल परीक्षण सञ्चालन गरिएको भेइकल प्रिटेस्ट सेन्टरका अध्यक्ष देवेन्द्र प्रधानले बताए । बदलिँदो परिस्थितिमा नेपालको भौगोलिक अवस्थिति अनुकूल सबै पक्षलाई पनि दृष्टिगत गर्दै सक्षम चालक उत्पादन गर्ने उद्देश्यका साथ सेन्टर सञ्चालन गरिएको उनको भनाइ छ ।   ‘ट्राफिक प्रहरी विदेश जानका लागि चाहिने आवश्यक यातायातसम्बन्धी तालिमलाई समेत दृष्टिगत गरी तयार गरिएको छ,’ उनले भने, ‘भर्खरका युवाहरुको उत्ताउलो र भड्काउलो फेसन र विशेषगरी महिलाहरुको सवारीसाधनप्रतिको बढी इच्छालाई ध्यानमा राखी सुरु गरिएको छ ।’

दस रोपनीभन्दा बढी क्षेत्रफलमा पूरै पिच बाटो बनाएर धारा, पानी, बिजुली चियादेखि यात्रुहरुलाई निर्धक्क पार्किङको समेत व्यवस्था गरिएको छ । भद्रकालीस्थित (लिजमा लिएको खाद्य संस्थानको जग्गा) मा एक करोड रुपैयाँभन्दा बढीको लागतमा करिब छ महिनामा निर्माण सम्पन्न गरी एक सातादेखि नयाँ ट्रायल सेन्टर सुरु गरिएको हो । ट्रायल अभ्यास परीक्षणका लागि १५ भन्दा बढी सवारीसाधन रहेका छन् । दुई पाङ्ग्रे मोटरसाइकल र चारपाङ्ग्रे जिप, कार तथा भ्यानको अभ्यास गरिन्छ ।

उपत्यकामा करिब ६ वटा नयाँ ट्रायलसम्बन्धी परीक्षण सेन्टर खुले पनि तिनमा मोटरसाइकलको मात्र ट्रायल परीक्षण हुन्छ । त्यस्ता सेन्टरहरु कतिपय साँघुरो र मापदण्डअनुरुप नभएको पनि पाइएको छ । अत्याधुनिक सुविधा सम्पन्न गाडीसहित सिकाउने ‘भेइकल प्रिटेस्ट सेन्टर’ एक मात्र कम्पनी हो । सम्बन्धित सरकारी निकायबाट स्वीकृतिप्राप्त गरी कानुनी मापदण्डअनुरुप प्रिटेस्ट सेन्टर तयार गरेको बताइएको छ । ट्रायल परीक्षणका लागि १२ वटाभन्दा बढी कर्मचारी सक्रिय छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दक्ष चालक निर्माण गरी बढ्दो सवारी दुर्घटना कम गराउन नयाँ सवारी ट्रायल सेन्टरको स्थापना र सञ्चालन महत्वपूर्ण हुने बताए । उनले सवारी चालक अनुमतिपत्रसम्बन्धी नयाँ व्यवस्था सुरु गरेपछि नयाँ किसिमका ट्रायल सेन्टरहरु निजी क्षेत्रबाट धमाधम सञ्चालन भइरहे पनि अहिलेसम्म विभागले के–कति मापदण्डअनुरुप छन् भनेर निगरानी नगरेको भन्दै चाँडै त्यस्ता सेन्टरहरुको प्रभावकारी रुपमा निगरानी गरिने बताए । – रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us