सडक सुरक्षाको जिम्मा महिला प्रहरीलाई

काठमाण्डु टुडे २०७० माघ १ गते ३:३९ मा प्रकाशित

भक्तपुर, १ माघ–महानगरीय प्रहरी परिसर भक्तपुरले छ लेन सडकको सुरक्षाको जिम्मा महिला प्रहरीहरुलाई दिएको छ । भक्तपुरको मनहरा पुलदेखि सूर्यविनायक, साँगासम्मको अरनिको राजमार्गअन्तर्गतको सडकको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिइएको हो ।

राजमार्ग सुरक्षाका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा सात महिला प्रहरीको टोली परिचालन गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए । महिला प्रहरीलाई राजमार्गमा गस्ती गर्ने र कुनै दुर्घटना भए तुरुन्त पुगेर उद्धारको कार्य गर्ने जिम्मेवारी दिइएको छ ।

‘महिला प्रहरीको व्यवसायिक क्षमता अभिवृद्धि र महिलाहरुले पनि फिल्डमा खटेर कार्य गर्न सक्छन् भन्ने देखाउन महिला प्रहरीलाई कार्यालयबाहिरको जिम्मेवारी दिएका हौं’ श्रेष्ठले भने, ‘यसले महिला प्रहरीप्रतिको जनताको घारणासमेत परिवर्तन आउने विश्वास छ ।’

सडक सुरक्षाको जिम्मा पाएको टोलीमा हाल सवारीचालक भने पुरुष रहेका छन् । श्रेष्ठले चालक पनि महिला राख्ने प्रयास भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us