बम पड्काएर माछा मार्ने पक्राउ

काठमाण्डु टुडे २०७० माघ १ गते ३:३३ मा प्रकाशित

सल्यान, १ माघ–भेरी नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने एकजनालाई सल्यानको सल्लीबजार प्रहरीले पक्राउ गरेको छ । भेरी नदीमा जेलेटिन बम प्रयोग गरेर माछा मार्दै गरेको अवस्थामा सल्लीवजार ७ का टंक सुनारलाई प्रहरीले पक्रेको हो ।

सुनारलाई पक्राउ गरिसकेपछि प्रहरीले घरमा खोजतलास गर्दा विभिन्न प्रकारका विस्फोटक पदार्थ समेत फेला पारेको छ । सुनारको घरबाट ९१ थान जिलेटिन, १३ थान सेप्टी फ्यूज र ८५ थान डेटोनेटर बरामद भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज नवराज शाहीले जानकारी दिए ।

सुनारलाई थप अनुसन्धान र कार्वाही प्रकृया अघि बढाइएको छ । साथै आगामी दिनहरुमा खोलामा विष हाल्ने, भेरी नदिमा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्नेहरुलाई कार्वाही गरिने प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us