माघे संक्रान्तिमा कस्ले के भने ?

काठमाण्डु टुडे २०७० माघ १ गते २:०७ मा प्रकाशित

काठमाण्डु, १ माघ–राष्ट्रपति डा. रामवरण यादवले सबै जातजातिका संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न चाडपर्वहरूले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा बुधबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यो पर्वले सबै नेपालीबीच आपसी सदभाव, प्रेम र शान्ति स्थापना गर्न सफलता प्राप्त गरोस् भन्ने कामना गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘माघी पर्वलाई थारु, छन्त्याल र मगरलगायत मुलुकका विभिन्न जातजाति तथा धर्मावलम्बीले आ–आफ्नै परम्पराअनुसार मनाउँदै आएको पाइन्छ, यस प्रकारका चाडपर्वले राष्ट्रिय एकतालाई कायम गर्न ऊर्जा प्रदान गर्ने मैले विश्वास लिएको छु ।’

यसैगरी उपराष्ट्रपति परमानन्द झाले माघी पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । उपराष्ट्रपति झाको शुभकामना सन्देशमा यस पर्वले नेपाली–नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।

यस्तै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक मान्यताका आधारमा नेपालका सबै समुदायबीच परापूर्वकालदेखि कायम रहेको सदभाव र एकतालाई सुदृढ बनाइ राख्नु पर्ने आवश्यकता औंल्याएका छन् । माघी पर्वको अवसरमा शुभकामना सन्देश दिदै रेग्मीले शान्ति र मैत्रीपूर्ण सम्बन्ध सँगसँगै आगामी दिनमा नेपाली समाजलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउँदै देशको सर्वाङ्गीण विकासमा उन्मुख हुनु अपरिहार्य रहेको बताएका छन् ।

सन्देशमा उनले गत मंसिर ४ गते ऐतिहासिक सफलताका साथ सम्पन्न भएको संविधानसभा निर्वाचनपश्चात् मुलुकमा शान्ति, स्थायित्व र विकासका लागि सकारात्मक वातावरण निर्माण भएको उल्लेख गरेका छन् । अध्यक्ष रेग्मीले केही दिनपछि संविधानसभाको पहिलो बैठक बस्ने र संविधान निर्माणको कार्य पनि तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै यस कार्यमा समस्त राजनीतिक दलहरूको सक्रियता सकारात्मक रूपमा अघि बढ्ने विश्वास लिएका छन् । साथै राजनीतिक दल, नेतृत्व वर्ग तथा संविधानसभा सदस्यहरूलाई पूर्ण सफलताको कामना समेत उनले गरेका छन् ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माघे सङ्क्रान्ति पर्वका अवसरमा दिएको शुभकामना सन्देशमा यस पर्वबाट नेपालका विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका मगर तथा थारु समुदायले नयाँ समयको आगमनको उत्सवको रूपमा मनाउने माघी पर्वले सबै नेपालीको घर घरमा सुख शान्तिको मार्ग प्रशस्त होओस् भन्ने कामना गरेका छन् ।

प्रचण्डले दिएको शुभकामना सन्देशमा माघी पर्वले सबै नेपालीले चाहेको अग्रगामी संविधान निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । थारु, मगर समुदायलगायत सम्पूर्ण नेपालीमा उत्साह उमङ्ग भर्दै शान्ति र परिवर्तनको मार्गमा अगाडि बढ्न सफलता मिलोस् भन्ने उनको कामना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us