कोइरालाले सभापति दिएर प्रधानमन्त्री लिँदै

काठमाण्डु टुडे २०७० माघ १ गते २:१० मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १ माघ–कांग्रेस सभापति सुशील कोइरालाले अर्को वर्ष हुने पार्टीको १३ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भन्दै प्रधानमन्त्रीका लागि आफू सर्वसम्मत हुन कसरत थालेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी देखिएपछि कोइरालाले यस्तो रणनीति अघि सारेका हुन्।

‘सभापतिले सरकारको नेतृत्वको इच्छा गरेकाले उहाँलाई पार्टीभित्र सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने आधार बनाउनुपर्छ’, कांग्रेस प्रवक्ता रहेका कोइराला निकट नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘तीन नेता बसेर आन्तरिक व्यवस्थापनलगायतका विषय टुंग्याउनुपर्छ।’

पार्टीभित्रै प्रधानमन्त्री को हुने भन्ने विवाद चर्किंदा नकारात्मक सन्देश जाने भएकाले सर्वसम्मतिका लागि नेतृत्व हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि सार्ने निष्कर्षमा कोइराला पुगेको स्रोतले बतायो। देउवाले आगामी महाधिवेशनमा कोइरालाले आफूलाई सघाए प्रधानमन्त्रीका लागि आफूले पनि सहयोग गर्ने संकेत गरेका छन्।

‘महाधिवेशनमा के हुने भन्ने पनि एउटा पक्ष हुन सक्छ तर त्यो पछिको कुरा हो, अहिले पार्टीको आन्तरिक र सरकारभित्रको शक्ति कसरी बाँडफाँट गर्ने भन्ने महत्त्वपूर्ण हो,’ देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, ‘शेरबहादुरजी सकभर सहमतिमै दलको नेता चयन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ तर त्यसका लागि सभापतिले ठोस प्रस्ताव ल्याएर छलफल गर्नुपर्छ।’

कोइरालाले अघिल्लो महाधिवेशनमै आफू एक कार्यकालका लागि मात्रै सभापतिको प्रतिस्पर्धामा रहेको घोषणा गरेका थिए। ‘सभापतिले अघिल्लो महाधिवेशनमा पनि एक कार्यकालमात्रै सभापति हुन्छु भन्नुभएको थियो,’ कोइराला निकट अर्का एक नेताले भने, ‘पार्टीभित्र अरू साथी पनि हुनुहुन्छ, उहाँहरूले पनि नेतृत्व लिने मौका पाउनुपर्छ भन्ने धारणा छ।’

कोइरालाले संविधानसभा पहिलो बैठकअघि नै संसदीय दलको नेता चयनमा देखिएको विवाद टुंग्याउने गरी छलफल सुरु गर्ने भएका छन्। दलको नेता छान्न चुनाउ गराउन नहुने निष्कर्षमा पुगेका कोइरालाले आफू निकट केन्द्रीय सदस्यमार्फत देउवालाई महाधिवेशनमा आफू प्रतिस्पर्धी नहुने सन्देश पठाइसकेका छन्।

‘अघिल्लो चुनावमा भन्दा दोब्बरभन्दा बढी सिटसहित कांग्रेस पहिलो पार्टी बन्यो,’ बडूले भने, ‘यो परिवेशमा पार्टी सभापति प्रधानमन्त्री हुनु स्वाभाविक हो, अरूले पनि इच्छा देखाउनु नराम्रो होइन तर सभापतिकै नाममा सर्वसम्मत हुन्छ।’

देउवाले पनि आफ्नो पक्षमा संसदीय दलको नेताका लागि स्पष्ट बहुमत नभएकाले पार्टी नेतृत्व, महाधिवेशन र सरकारको नेतृत्वमा भागबन्डा गर्ने मनस्थिति बनाएका छन्। संसदीय दलमा पौडेलसँग नमिले आफ्नो पक्षमा बहुमत पुर्‍याउन नसकिने र फेरि दलको नेता बन्न चुनाव लड्दा सकारात्मक सन्देश नजाने भएकाले देउवा कार्यवाहक सभापति पाए कोइरालालाई प्रधानमन्त्रीमा सघाउन तयार देखिएका छन्।

पौडेलले भने आगामी महाधिवेशनमा सहयोग गर्ने लिखित प्रतिबद्धता जनाउन आफू तयार भएको भन्दै आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न अघिल्लो साता बूढानीलकण्ठ नै पुगेर देउवालाई आग्रह गरेका थिए। देउवाले भने त्यस विषयमा पछि छलफल गरौंला भन्दै कुनै जबाफ दिएनन्। देउवा निकट नेताले भने अघिल्लो महाधिवेशनमा पनि पौडेलले सहयोग गर्ने वचन दिएर अन्तिममा कोइरालालाई साथ दिएकाले विश्वास गर्न नसकिने बताउँदै आएका छन्।

पौडेलले प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न सभासद्सँग पनि लबिङ गरिरहेका छन्। उनले सोमबार राजधानीको होटेल याक एन्ड यतीमा हिमाली र केही पहाडी जिल्लाका सभासद्लाई रात्रिभोज दिएका थिए।

रात्रिभोजमा उनले अहिलेको संक्रमणकालीन र जटिल राजनीतिलाई सल्टाउन सक्ने क्षमता आफूसँग भएकाले कम्तीमा एक वर्षसम्मका लागि प्रधानमन्त्री बन्न सहयोग गरिदिन आग्रह गरेका थिए। उनले यसअघि आफ्नै निवास बोहोराटारमा पनि युवा सभासद्लाई बोलाएर प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरेका थिए।

पौडेलले पार्टीभित्र महाधिवेशनको प्रक्रिया सुरु हुने समय आइसकेकाले सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुँदा असर पुग्ने तर्क गर्दै आएका छन्। तर कोइरालाले आगामी महाधिवेशनमा उम्मेदवारी नदिने वचन दिए भने संस्थापन पक्षको उम्मेदवार आफैं भइने विश्लेषणमा पौडेलले पनि चित्त बुझाउने स्रोतको दाबी छ। – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us