आज माघे संक्रान्ति पर्व

काठमाण्डु टुडे २०७० माघ १ गते १:४९ मा प्रकाशित

काठमाण्डु, १ माघ–परम्परागत माघे संक्रान्ति पर्व बुधबार देशभर मनाइदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे संक्रान्तिको दिन घरका सबै परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर घिउ, चाकु, तरुल, सखरखण्ड, खिचडी लगायतका परिकार खाने चलन छ ।
माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पूजापाठ गरेका थिए । यसैगरी भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।

माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा धुमधामसँग मनाइ रहेकाछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, बर्ष दिनको योजना बनाउने लगायत काम गर्दछन् । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा माघी महोत्सव आयोजना गरिएको छ । कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको समेत सहभागीता रहने छ ।

माघे संक्रान्तिको अवसरमा देशभर सार्बजनिक विदा दिइएको छ । यसैबीच माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष र बिभिन्न राजनीतिक दलका नेताहरुले स बै नेपालीलाई शुभकामना दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us