देवघाटमा माघेसंक्रान्ति मेला सुरु

काठमाण्डु टुडे २०७० पुष ३० गते ८:०६ मा प्रकाशित

चितवन, ३० पुस । धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति मेला सुरु भएको छ । देवघाटको बेनीमा ॐकार अंकित बाँसको लिङ्गो गाडेर गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी र हरिहर सन्न्यास आश्रमका पीठाधीश स्वामी ज्ञाननन्द सरस्वतीले मेला शुभारम्भ गरेका हुन् ।

हरेक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटमा मेला लाग्ने गरेको छ ।

स्नान गर्न देवघाट पुग्ने भक्तजनहरुको चापलाई ध्यानमा राख्दै नारायणी नदी वारपार गर्न डुंगा र भारवहन क्षमतालाई ध्यानमा राख्दै झोलुङ्गे पुलमा एकोहोरो आवतजावतको व्यवस्था गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले देवघाटमा भक्तजनको सुरक्षा व्यवस्था चुस्त बनाउन र चिसोलाई ध्यानमा दिई आगोको व्यवस्था पनि गरिएको जानकारी दिए ।

प्रत्येक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटमा स्नान गर्न र मेलामा सहभागी हुन देशविदेशका लाखौँ भक्तजन देवघाट पुग्ने गर्छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ ।

यस अवसरमा स्नान, दान र पूजाअर्चना सम्पन्न भएपछि आ–आफ्ना घरमा तिलको लड्डु, तरुल, घिउ, चाकु, खिचडी, फुरौला, सेलरोटी आदि परिकार बनाएर खाने खुवाउने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us