पाँच नेपालीको शव गोवामै रोकियो

काठमाण्डु टुडे २०७० पुष ३० गते ४:२० मा प्रकाशित

काठमाण्डु, ३० पुस– भारतबाट नेपाल ल्याउन लागिएको पाँच नेपाली कामदारको शव गोवाको मटगाउँ अस्पतालमै रोकिएको छ । दक्षिण गोवाको कानकोन समुद्री किनारमा निर्माणाधिन भवन भत्किएर मृत्यु भएका पाँच नेपालीको शव मंगलबार विहान नेपाल ल्याउन  लागिएको थियो । तर, एयर इन्डिया सेवा र गोवा एयरपोर्टले मृतकका आफन्त तथा गाउँले गुरु प्रसाद खड्काको मात्रै जिम्मा लगाएर पाँचवटा शव पठाउन इन्कार गरेपछि शव अस्पतालमा रोकिएको छ ।

काठमाण्डुस्थित अन्तराष्ट्रिय विमानस्थलले ‘क्लीयरेन्स लेटर’ पठाउनु पर्ने उनीहरुको भनाइ छ । यो प्रक्रियाले ढिलाइ हुँदा अब बुधबार मात्रै शव नेपाल आउने भएको छ ।

दिल्लीस्थित नेपाली दुतावासको पहलपछि गोवा राज्य सरकारले काठमाण्डुको अन्तराष्ट्रिय विमानस्थलसम्म शव पठाइदिन सहमति जनाएको थियो ।

यही पुस २० गते निर्माणाधिन भवन भत्किदा च्यापिएर दाङका पाँचजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गोल्टाकुरी गाविस ६ का २२ बर्षीय सिताराम विक र २६ बर्षीय दीपक विक, गोल्टाकुरी–८ का ३३ बर्षीय तारा बहादुर खड्का, गोल्टाकुरी–७ का ४४ वर्षीय दीपक वली तथा फुलबारी गाविस–३ का २८ बर्षीय डम्बर नेपाली रहेका छन् । उनीहरु सबै चौकीदारी काम गर्दथे ।

भवन निर्माण गर्ने कम्पनि र ठेकेदार फरार रहेकाले शव नेपाल ल्याउन कठीनाइ भैरहेको छ । गोवा राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने भनिए पनि अझै अन्यौल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us