सरकारको नेतृत्वबारे काँग्रेस अन्यौलमै

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:५७ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ३० पुस– संविधानसभा बैठक बस्नु अघि नै नयाँ सरकार गठनको खाका तयार पार्न नेपाली काँग्रेसले गृहकार्य जारी राखेको छ । सहमतिको सरकार गठन र एकबर्षभित्र नयाँ संविधान जारी गर्ने कार्यविधिबारे काँग्रेसले आन्तरिक छलफल जारी राखेको हो ।

मंगलबार पनि बरिष्ठ नेताहरुबीच छलफललाई जारी राखेको काँग्रेसले एमाओवादीलाई समेत समेट्ने गरी नयाँ सरकार बनाउने र प्रक्रिया छोट्याएर भए पनि एकबर्ष भित्र संविधान जारी गर्ने गरी अरु दलहरुसँग छलफल चलाउने तयारी गरेको छ ।

दोस्रो ठूलो दल नेकपा एमालेले शक्ति बाँडफाँटको प्रस्ताव ल्याउन काँग्रेसलाई दवाव दिएपछि सभापति सुशील कोइरालाले दैनिकजसो छलफल चलाउदै आएका छन् ।

पार्टीभित्र सरकारको नेतृत्वको विषयमा मत बाझिएपछि सभापति कोइराला अप्ठेरोमा परेका छन् । सभापति कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा दावी गरेका छन् । संसदीय दलको नेता भएकोले पार्टीको विधान अनुसार आफू नै प्रधानमन्त्री हुन पाउनु पर्ने पौडेलको दावी छ । सभापति कोइरालाले भने आफू प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् ।

यसमा देउवा भने केही लचिलो देखिएका छन् । तर, पार्टी भित्र पनि खास जिम्मेवारी नपाएको, अन्तराष्ट्रिय समर्थन रहेको र पहिले पनि सरकार चलाएको अनुभव भएकाले आफू प्रधानमन्त्री बन्नुपर्ने अडान उनको छ । देउवाले प्रधानमन्त्री पद नपाए कार्यवाहक सभापतिमा दावी गरेका छन् ।

सभापति आफू भएकोले पहिलो दावी नछोड्ने कोइरालाको अडान र लामो समयदेखि पार्टीमा लामो समयसम्म योगदान पुर्याएकोले आफूलाई मौका दिनुपर्ने पौडेलको मागले काँग्रेस भित्र अन्यौल लम्विएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us