यात्रु बनेर चढेका हतियारधारीले बस लुटे

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:१८ मा प्रकाशित

बर्दिवास, ३० पुस– यात्रु बनेर चढेको एक हतियारधारी समूहले महोत्तरीमा मंगलबार विहान बसमा लुटपाट गरेको छ । काठमाण्डुबाट सिन्धुली जाँदै गरेको ना ४ ख १५०१ नम्बरको बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, गरगहना, मोबाइल लगायतका सरसामान लुटेका हुन् ।

पेस्तोल र खुकुरी लिएका लुटेरा समूहले एक लाख रुपैयाँ भन्दा धेरै नगद, ६ तोला भन्दा धेरै सुनका गहना, मोवाइल लगायतका सरसामान लुटेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए । ‘९ जना व्यक्ति मध्ये एकजनाले चालकलाई नियन्त्रणमा लिएर आफैले गाडी चलाउने र अरुले लुट्ने गरेछन्,’ झाले भने ।

बस चालक कृष्णकुमार श्रेष्ठका अनुसार काठमाण्डुको कलंकीबाट यात्रु बनेर ४ जना र हेटौंडाबाट ५ जना चढेका थिए । ‘मलाई कुटपिट गर्दै एकजनाले नियन्त्रणमा लियो, अरुले लुटपाट गर्न थाले,’ महोत्तरी खयरमारा घर भएका चालक श्रेष्ठले भने । उनका अनुसार मंगलबार विहान ४ बजे फुलजोर जंगलमा बस प्रवेश गर्नासाथ उनीहरुले लुटपाट सुरु गरेका थिए । लुटेराको कुटपिटबाट बस चालक श्रेष्ठ घाइते भएका छन् । उनको बर्दिवासमा उपचार भैरहेको छ ।

लुटेराहरुले झण्डै २० किलोमिटर जंगल क्षेत्रमा आफैले गाडी चलाएर लुटपाट गरेको यात्रुहरुले बताएका छन् । लुटपाटपछि महोत्तरीको बर्दिवास नजिक विश्वकर्मा चोकमा गाडी रोकेर उनीहरु जंगलतिर भागेका थिए ।

प्रहरीले विश्वकर्मा चोक नजिकबाट शंकास्पद एकजनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us