परराष्ट्रमन्त्री घिमिरे भारत प्रस्थान

काठमाण्डु टुडे २०७० पुष ३० गते १:४२ मा प्रकाशित

Madhab-Ghimireकाठमाण्डु, ३० पुस–गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे भारतको तीनदिने औपचारिक सद्भावना भ्रमणमा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री घिमिरेले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह र आफ्ना समकक्षीहरू विदेशमन्त्री सलमान खुर्सिद तथा गृहमन्त्री सुशीलकुमार सिन्धेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

भारतीय विदेशमन्त्री खुर्सिदको निमन्त्रणामा त्यसतर्फ गएका परराष्ट्रमन्त्री घिमिरेले आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री र आफ्ना समकक्षीद्वयसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुने जानकारी पनि मन्त्री घिमिरेले दिए ।

‘भ्रमणको खासै कार्यसूची छैन, नेपाल–भारत सम्बन्धका विविध आयाममा छलफल हुनेछ जुन विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउनेमा केन्द्रित हुनेछ,’ मन्त्री घिमिरेले भने ।

नेपालको विकास प्रयासमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षाका साथै तिनलाई द्रुत गतिमा अघि बढाउने सम्बन्धमा पनि भारतीय अधिकारीहरूसँग छलफल गरिने उनको भनाइ छ ।

मन्त्री घिमिरेका साथ उहाँकी धर्मपत्नी, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, गृह मन्त्रालयका सहसचिव शङ्करप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव निर्मलकुमार काफ्ले र शिष्टाचार अधिकृत भारत गएका छन् ।

नयाँदिल्लीबाट कार्यवाहक राजदूत खगनाथ अधिकारी र ‘काउन्सिलर’ तीर्थ वाग्ले मन्त्री घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । मन्त्री घिमिरे माघ २ गते राति स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us