विश्वविद्यालयमा पुस्तक बिना नै पढाइ

काठमाण्डु टुडे २०७० पुष २९ गते ७:१४ मा प्रकाशित

registrar1सुर्खेत, २९ पुस –    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाइ सुरु भएको एक वर्ष भइसक्दा पनि पाठ्यपुस्कतबिना नै पढाइ भइरहेको छ ।

एक वर्षको अवधिमा विश्वविद्यालयका दुईवटा सेमेस्टरको कार्यक्रम सकिनै लाग्दासमेत विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमअनुसार पुस्तक नहुँदा विद्यार्थी पुस्तकबिना नै परीक्षा दिन बाध्य भएका हुन् ।

पहिलो सेमेस्टरको कार्यक्रममा पुस्तकबिना नै परीक्षा दिएका विद्यार्थीले दोस्रो सेमेस्टरको कार्यक्रममा पनि पुस्तक नहुँदा त्यसरी नै परीक्षा दिने भएका छन् ।
पाठ्यक्रमअनुसारको पुस्तक पनि आइनसकेको र विश्वविद्यालयको पुस्तकालयमा पनि कुनै पुस्तक नभएको विद्यार्थीले गुनासो गरेका छन् ।

विश्वविद्यालयमा पढाइ हुने विषयको पुस्तक तथा अन्य सन्दर्भ सामग्रीसमेत उपलब्ध हुन नसक्दा पढ्न समस्या हुने गरेको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी निराजन शाहीले बताए ।

विश्वविद्यालयमा भर्ना हुुँदा पुस्तकालयका लागि धरौटीसमेत बुझाएको भएपनि विश्वविद्यालयले पुस्तकको व्यवस्था गर्न नसकेको उनको भनाइ छ । ‘विश्वविद्यालयमा भर्ना हुँदा हामीले पुस्तकालयका लागि पनि धरौटी बुझाएका छौँ’, उनले भने, “पुस्तकालयमा एउटा पनि किताब छैन, किन्न पनि पाइँदैन ।’

पाठ्यक्रमअनुसारका पुस्तकहरु नभएको र अन्य सन्दर्भ पुस्तकहरु पनि विश्वविद्यालयले उपलब्ध नगराएपछि सम्बन्धित विषयका उपप्राध्यापकहरुले नै पाठ्यक्रमअनुसारका केही सामग्री उपलब्ध गराउने गरेका छन् । विश्वविद्यालयले पनि तत्काल पुस्तक उपलब्ध गराउन नसकिने भन्दै उपप्राध्यापकहरुलाई नै आवश्यक सामग्री उपलब्ध गराउन निर्देशन दिएको छ ।

विद्यार्थीलाई उपलब्ध गराइने सामग्रीको खर्च विद्यार्थीले तिर्न नपर्ने मानविकी तथा समाजशास्त्र संकायका डीन पीताम्बर ढकालले बताए । अहिले विश्वविद्यालयसँग  पुस्तक ल्याउन रकम अभाव भएको भन्दै पुस्तकको व्यवस्था सम्बन्धित उपप्राध्यापकहरुले नै गर्ने व्यवस्था मिलाउने उनको भनाई छ ।

विश्वविद्यालयको दास्रो सेमेस्टरको परीक्षा आगामी माघ १९ गतेदेखि सुरु हुँदै छ । अहिलेसम्म विद्यार्थीलाई परिचयपत्रसमेत उपलब्ध गराउन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us