राजनीतिक प्रभावमा शिक्षक अन्तर्वार्ता स्थगन भएको दाबी

काठमाण्डु टुडे २०७० पुष २९ गते ७:०८ मा प्रकाशित

काठमाण्डु, २९ पुस – अखिल नेपाल शिक्षक संगठनले २०७० जेठमा शिक्षक सेवा आयोगले लिएको खुला विज्ञापनको लिखित परीक्षामा उत्तीर्णको पूर्व निर्धारित अन्तर्वार्ता राजनीतिक प्रभावमा स्थगित भएको दाबी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा शिक्षक सेवा आयोगले मावि÷निमाविको अन्तर्वार्ता र प्राविस्तरको नतिजा प्रकाशन गर्ने काम यही पुस ११ गते स्थगित गरेको थियो ।

संगठनका अध्यक्ष लालबहादुर बिसी र महासचिव घनश्याम पाठकद्वारा जारी प्रेस विज्ञप्तिमा शिक्षक सेवा आयोगको नतिजा प्रकाशनमा जहाँ गल्ती÷कमजोरी भएको छ त्यहाँ अख्तियारले छानबिन गर्नु ठिकै भए पनि सबै प्रक्रिया नै रोक्नु गलत भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको भावना र अन्तर्वार्ताको तयारीलाई ध्यान दिई शिक्षक सेवा आयोगले गर्ने अन्तर्वार्ता र नतिजा प्रकाशनको काम अगाडि बढाउन माग गर्दछौँ । कुनै राजनीतिक तथा अन्य प्रभावमा नपरी सबैस्तरको नतिजा स्वतन्त्र र निष्पक्ष बनाई जनताको भावनालाई सम्बोधन गर्न ध्यानाकर्षण गराउँछौ ।’

सङ्गठनको हालै राजधानीमा सम्पन्न पाँचौं विस्तारित बैठकले आगामी माघ १ गतेदेखि २०७० चैत मसान्तसम्म एकीकृत शैक्षिक अभियान २०७० नामक तीन महिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us