मकर संक्रान्तिमा तिलको लड्डुको महत्व के ?

काठमाण्डु टुडे २०७० पुष २९ गते ४:३० मा प्रकाशित

til-ko-ladduमाघे संक्रान्ति अर्थात् मकर संक्रान्तिमा तपाईं हामीले खिचडी, चाकु, तिलको लड्डु लगायतका परिकार खाने गर्दछौं । तिलको लड्डुको यो दिन विशेष महत्व हुन्छ ।

शास्त्रअनुसार मकर संक्रान्तिको दिन सूर्य देव धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् । मकर राशिका स्वामी शनि देव (सूर्यदेवको पुत्र) पनि सूर्यसँग शत्रुभाव राख्छन् । अतः शनिदेवको घरमा सूर्यको उपस्थितिले शनिलाई कष्ट नहोस् भनेर तिलको दान र सेवन मकर संक्रान्तिमा गरिन्छ ।

मान्यता के पनि छ भने माघ महिनामा जुन व्यक्तिले दैनिक भगवान विष्णुको पूजा तिलबाट गर्छ, उसको सबै कष्ट दूर हुन्छ ।

मकर संक्रान्तिमा गंगा, यमुना र सरस्वतीको संगम प्रयागमा सबै देवीदेवता आफ्नो भेष बदलेर नुहाउन आउँछन् भन्ने धार्मिक विश्वास पनि छ । त्यसैले मकर संक्रान्तिको दिन गंगा स्नान गरेमा सबै कष्ट निवारण हुने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यो दिन दान, तप र जपको विशेष महत्व छ ।

मकर संक्रान्तिमा चामल, सक्खर, तिल आदि चीज पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले जाडोमा शरिरमा ताप कायम राख्न सहयोग मिल्छ ।

मकर संक्रान्तिमा ब्राम्हणहरुलाई अन्न, बस्त्र, उनीका कपडा, फल आदि दान गरेमा पूण्य प्राप्ति हुने विश्वास पनि छ । दीर्घायू एवम् निरोगी रहनको लागि रोगीहरुले मकर संक्रान्तिको दिन औषधि, तेल र आहार दान गर्नुपर्ने बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us