गाउँमै बीउ बैंक, कृषकलाई सहज

काठमाण्डु टुडे २०७० पुष २९ गते ४:०४ मा प्रकाशित

बेलौरी, २९ पुस– बीउका लागि भारतका विभिन्न सहर धाउनुपर्ने र खराब बीउका कारण ठगिनुपर्ने बाध्यताबाट कन्चनपुरको दक्षिणी भेगका किसानले मुक्ती पाएका छन् । जिल्लाको शङ्करपुर–६ बल्मीमा सामुदायिक बीउ बैंक स्थापना भएपछि दक्षिणी भेगका जनताले विभिन्न प्रकारका बीउबिजन गाउँमै पाउन थालेका हुन् ।

सामुदायिक बीउ बैंक स्थापना हुनुपूर्व स्थानीयले भारतका विभिन्न सहरमा बीउबिजनका निम्ति धाउनुपथ्र्यो । राम्रो बीउ नपाइने, कतिपय अवस्थामा भारतीय व्यापारीबाट ठगिनुपर्ने र खेत बाँझै राख्नुपर्ने बाध्यता उनीहरुको थियो । बीउ बैंकको स्थापनासँगै कृषकले सस्तो र सुपथ मूल्यमा सबैखाले बीउबिजन पाउन थालेका छन् । बीउ बैंक स्थापनासँगै कृषकले भारतीय व्यापारीबाट कमसल बीउका कारण ठगिनुपर्ने बाध्यताबाट समेत मुक्ति पाएका छन् ।

सामुदायिक बीउ बैंकमा धानका पुराना जातका बीउ जस्तैः सोठियारी, अन्जना, स्यामजिरा, तिल्की, रैमुनुवा, रतनपुरी, अन्दी संरक्षण गर्नुका साथै धान र गहँुको बीउ सङ्कलन गरी समूहमा वितरण गर्ने गरिएको छ । अन्य मौसमी बीउबिजनसमेत राख्ने गरिएको छ ।

गाउँमा बीउको माग अझ धेरै भएको र मागअनुसार पूर्ति गर्न नसकिएको बीउ बैंकका सचिव श्रीकृष्ण रानाले बताइए । शङ्करपुर–२ कञ्जमा रहेको यो बीउ बैंकबाट शङ्करपुर, श्रीपुरलगायत छिमेकी गाविसमा पनि बीउ जाने गर्दछ ।

बीउका बारेमा पहिले खास जानकारी नभए पनि पछिल्लो समयमा यसबारे जानकारी हासिल गरेको र उत्पादनमा पनि वृद्धि भएको स्थानीय कृषकहरुले बताएका छन् । बीउ बैंक स्थापनाका लागि गैर सरकारी संस्था निड्स कञ्चनपुरले सहयोग गरेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us