मलामी सवार जीप दुर्घटना, २ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २९ गते २:४९ मा प्रकाशित

काठमाण्डु, २९ पुस– पर्वतको हुवासमा मलामी सवार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडा जाँदै गरेको ग १ च ७६०२ नम्बरको जीप गएराती साढे १० बजे हुवास–७ को दारसिङडाँडामा दुर्घटना हुँदा हुवास ५ का ६५ वर्षीय होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपानेको ज्यान गएको हो । न्यौपानेको घटनास्थलमा नै र तिवारीको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका हुवास ५ का ५५ वर्षीय डण्डपाणी बस्याल, सोही स्थानका २४ वर्षीय घनश्याम बस्याल, हुवास ६ का ४५ बर्षी नुमाखर बस्याल र हुवास ५ का २८ वर्षीय नन्दलाल बस्यालको पोखरास्थित मणिपाल हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ ।

अन्य १० जना घाइतेहरुको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भैरहेको छ । कच्ची सडकमा अत्यधिक लोडका कारण उकालोमा ब्रेक फेल भई ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । जीप चालक फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us