रुकुमेलीलाई कोरियाली पुरस्कार

काठमाण्डु टुडे २०७० पुष २९ गते २:४७ मा प्रकाशित

रुकुम, २९ पुस–सामुदायिक वन जोगाइराखेको भन्दै रुकुमका दुई सामुदायिक वनका २२४ उपभोक्तालाई कोरियाले सौर्य लालटिन सहयोग गरेको छ । पुर्तिमकाँडा–६ को लोकप्रिय सामुदायिक वन र आठविसकोट गाविस–९ को रानी सल्लेरी सामुदायिक वनका उपभोक्ताहरुलाई ग्रिन फाउन्डेसन कोरियाले प्रोत्साहनस्वरुप सौर्य लालटिन पुरस्कार पठाइदिएको हो ।

‘ग्रिन एसिया’ अभियानअन्तर्गत सामुदायिक वन जोगाई गाउँलाई हराभरा राखेका उनीहरुलाई गैरकाष्ठ वन पैदावारका लागि वन प्राविधिकहरुको सञ्जाल फ्यानमार्फत कोरिया सरकारले सौर्य लालटिन वन उपभोक्ताहरुलाई पठाएको हो ।

लालटिन पाउनेमा पुर्तिमकाँडा–६ को लोकप्रिय सामुदायिक वन समूहका ९० र आठविसकोट गाविस–९ को रानी सल्लेरी सामुदायिक वनका १३४ उपभोक्ता छन् । सामुदायिक वन मासेर दियालो बाल्ने काम रोकियोस्, दियालो बालेर अस्वस्थ बनेका गृहिणी स्वस्थ होऊन् र प्रत्येक उपभोक्ताका बालबालिकाले रातको समयमा पनि पढ्न पाऊन् भनेर कोरियाले सौर्य लालटिन पठाएको फ्यानका संयोजक खिमबहादुर केसीले जानकारी दिए ।

लालटिन वितरणपछि सल्लाको रूख काट्नेक्रम कम हुने विश्वास पनि लिइएको छ ।

जहाँ पनि लैजान मिल्ने लालटिनको आयु आठ वर्ष र सोलार प्यानको आयु २० वर्ष रहेको जनाइएको छ । वितरित लालटिनमा समस्या आए त्यसको प्रतिस्थापनका लागि थप २२ वटा लालटिन जगेडा राखिएको छ । उपभोक्ता समितिमै गठित अनुगमन समितिमार्फत बिग्रिएका लालटिन मर्मत गरिनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us