सहयोगीको नाफा ४ लाख ५७ हजार

काठमाण्डु टुडे २०७० पुष २९ गते १:०७ मा प्रकाशित

मध्यपुर थिमि, २९ पुस–सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था, मध्यपुर थिमि बालकुमारीले गत आर्थिक वर्ष २०६९/७० मा चार लाख ५७ हजार ७९५ रुपैयाँ नाफा गर्न सफल भएको छ ।

संस्थाको आठौं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केशवचरण श्रेष्ठले ३१८ महिला, ४६३ पुरुष र ३६ बाल सदस्यसहित ८१७ सदस्यबाट विभिन्न शीर्षकमा चार करोड ९८ लाख ३४ हजार १६६ निक्षेप सङ्कलन भएकामा सदस्यहरुलाई न्यून ब्याज दरमा चार करोड दुई लाख १८ हजार ११५ रुपैयाँ ऋण प्रदान गरिएको जानकारी दिए ।

साधारणसभा उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी संस्थाहरुमा प्रजातान्त्रिक पद्धतिहरु कमजोर हुँदै गइरहेको र राजनीतिकरणबाट सहकारी संस्थाहरु मुक्त हुनुपर्ने बताए ।

जिल्ला सहकारी सङ्घ भक्तपुरका प्रधिनिधि न्हुछेबहादुर प्रजापति, बालकुमारी बचत तथा ऋण सहकारी संस्थाका सचिव तुइलाल श्रेष्ठ र संस्थापक अध्यक्ष कृष्णचरण श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिव चन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष प्रदीप श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक ज्योतिनारायण श्रेष्ठ तथा सदस्यहरु मध्येबाट एसएलसी २०६९ सालमा सहभागी भई सर्वोत्कृष्ट हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us