नेपाल संसारकै उत्कृष्ट गन्तव्य सूचीमा

काठमाण्डु टुडे २०७० पुष २८ गते १३:१० मा प्रकाशित

Mountainकाठमाण्डु, २८ पुस – अमेरिकाको प्रतिष्ठित समाचारपत्र द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा राखेको छ ।

उक्त समाचारपत्रले आफ्नो यात्रा पृष्ठमा उच्च पहाडी साहासिक यात्राका लागि नयाँ चुचुरा खुल्दै (निउ पिक्स ओपन अप फर अल्पाइन एडभेन्चर्स) शीर्षकमा नेपाललाई समावेश गरेको छ ।

यो वर्ष भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीको प्रथम स्थानमा दक्षिण अफ्रिकाको केपटाउन र अन्तिममा संयुक्त राज्य अमेरिकाका न्यूयोर्क राज्यमा पर्ने नायगरा फल्सलाई राखिएको छ ।

विश्वका १० अग्ला हिमालमध्ये सगरमाथासहित आठवटा अग्ला चुचुरा भएको नेपाललाई हिमालको मातृभूमि भन्दै उक्त समाचारपत्रले कञ्चनजंघा हिमशृङ्खलाका १ सय ६५ वटा टाकुरा पर्वतारोहणका लागि खुला गर्न पर्यटन मन्त्रालयअन्तर्गतको उपसमितिले सिफारिस गरेको जनाएको छ ।

आरोहणका लागि सिफारिस गरिएकामध्ये १३ वटा २३ हजार फिटभन्दा अग्ला हिमाल छन् । ‘उपसमितिको सिफारिस कार्यान्वयन भएमा आगामी वसन्त ऋतुदेखि ती हिमशिखर आरोहणका लागि खुला हुनेछन्,’ उक्त समाचारपत्रले नेपालका हिमालको वर्णन गर्दै भनेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us