प्रचण्डलाई सूर्यबहादुरको सपथ !

काठमाण्डु टुडे २०७० पुष २८ गते १२:५५ मा प्रकाशित

Prachanda-and-suryabahadurकाठमाण्डु, २८ पुस – संविधानसभाको पहिलो बैठकको मिति तय भएसँगै बैठक आह्वानको सबै तयारी पुरा भएको छ ।

संसद सचिवालयले आइतबार प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीमा विजयी भएका सभासदलाई पहिलो बैठकमा सहभागि हुन ‘निम्तो’ समेत पठाइसकेको छ ।

यसपालीको संविधानसभामा जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षता गर्नेछन् पूर्व प्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले ।

अघिल्लो पटक प्रत्यक्षमा चुनाव हारेका थापा यस पटक भने समानुपातिकतर्फबाट सभासद बनेका हुन् । ८५ वर्षीय थापा नेपाली राजनीतिमा निकै सुझबुझपूर्ण निर्ण गर्ने नेताका रुपमा चिनिन्छन् ।

त्यसो त ज्येष्ठ सदस्यले अरु सदस्यलाई सपथ ग्रहण गराउनु त नौलो भएन तर यस पटक नौलो के चाँही भयो भने राजतन्त्रको प्रमुख दुस्मनलाई राजतन्त्रका सबैभन्दा निकटका राजनीतिज्ञले सपथ ग्रहण गराउँदैछन् ।

थापा पञ्चायत कालदेखि पटक पटक सत्ताको केन्द्रविन्दुमा रहेर काम गरेरका नेता हुन् । उनै थापा प्रधानमन्त्री हुँदा माओवादी युद्ध दबाउन सेना र सशस्त्र प्रहरीको युनाफाइड कमाण्ड गठन गरिएको थियो ।

त्यस अघि नै रोछापको दोरम्बामा २०६० साल साउन ३२ गते करिब दुई दर्जन माओवादी नेता कार्यकर्ता सेनाबाट मारिएका थिए ।

यसपालीको संविधानसभाको पहिलो बैठकमा उनै थापाले युद्धका कमाण्डर प्रचण्डलाई सपथ ग्रहण गराउँदैछन् ।

अघिल्लो संविधानसभामा ज्येष्ठ सदस्यको रुपमा रहेका गिरिजाप्रसाद कोइराला सरकार प्रमुख पनि रहेकाले पहिलो बैठकको अध्यक्षता कांग्रेस नेता केबी गुरुङले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us