पेन्सन पनि बैंकमार्फत नै

काठमाण्डु टुडे २०७० पुष २८ गते ११:१० मा प्रकाशित

nepal-rastra-bank-copy_20120515090004काठमाण्डु, २८ पुस –सेवा निवृत्त भएपछि आफूले पाउने निवृृत्तिभरणको भुक्तानी (पेन्सन) पाउन निकै झमेला व्यहोर्दै आएका राष्ट्रसेवकले अब सहज रूपमा भुक्तानी पाउने भएका छन् ।

विगतको झन्झटिलो निवृत्तिभरण भुक्तानीको प्रक्रियाबाट छुटकारा दिलाउँदै निवृत्तिभरण व्यवस्थापन कार्यालयले बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्थासम्बन्धी नयाँ प्रणाली सुरु गरेपछि सेवाग्राहीले राहत पाउने भएका हुन् ।

महालेखा नियन्त्रण कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालयको संयुक्त पहलमा सरकारी स्वामित्वका दुई नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकमार्फत निवृत्तिभरणको रकम भुक्तानी उपलब्ध गराउन लागिएको हो । यस किसिमको नयाँ प्रणालीबाट झमेला नहुने, रकम बचत तथा ब्याजदर पनि पाइने भएकाले प्रभावकारी हुने कार्यालयको भनाइ छ ।

निवृत्तिभरणका लागि बैंकमा शून्य मौज्दातमा छुट्टै बचत खाता खोलिनेछ । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई अनिवार्य रूपमा खाता खोल्न लगाई उसको रकम खातामा जम्मा गरिनेछ ।

उनीहरूले चाहेको बेला चेक, एटिएममार्फत बिना झन्झट रकम झिक्न पाउनेछन् भने खातामा रहेको मौज्दात रकममा बैंकले अन्य बचत खाताका निक्षेपकर्ता सरह ब्याज पनि उपलब्ध गराउने छ । प्रत्येक महिनाको पहिलो हप्ताभित्र बैंकले अवकाश प्राप्त कर्मचारीको निवृत्तिभरण खातामा सो महिनाको निवृत्तिभरण रकम जम्मा गरिदिनेछ ।

सेवा निवृत्त निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र सामुदायिक विद्यालयका शिक्षकको निवृत्तिभरण रकम भुक्तानी र सोधभर्नालगायतका कार्य निवृत्तिभरण व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us