सुनेको भरमा कम्प्युटर पढ्छन् विद्यार्थी

काठमाण्डु टुडे २०७० पुष २८ गते ५:३३ मा प्रकाशित

जाजरकोट, २८ पुस–जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ हुने कम्प्युटर शिक्षा सुनेकै भरमा विद्यार्थीले पढ्ने र शिक्षकले बिना अध्ययन नै पढाउने गरेका छन् । कम्प्युटरसम्बन्धी आधारभूत जानकारी नै नभएका शिक्षकले कम्प्युटरबिना नै किताबको भरमा पढाउने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

सरकारले यसै वर्षदेखि कक्षा ६ देखिको पाठ्यक्रममा ५० पूर्णाङ्कको कम्प्युटर विषय समावेश गरेपछि यस्तो समस्या परेको हो ।

कालिका निम्नमाध्यमिक विद्यालयमा कम्प्युटर विषयको पढाइ सुरु भयो तर विद्यालयमा कम्प्युटर नै छैन । न त पढाउन जान्ने शिक्षक नै छन् । प्रधानाध्यापक तिलकबहादुर थापा भन्छन्, ‘विद्यालयमा न कम्प्युटर सिकेका शिक्षक छन् न कम्प्युटर नै छ । यस्तो अवस्थामा कसरी पढाउने ?’

सरकारले तालिमप्राप्त शिक्षक र पूर्वाधार व्यवस्था नगर्दै पाठ्यक्रममा कम्प्युटर शिक्षा अनिवार्य गरेपछि जाजरकोट लगायतका पहाडी जिल्लाका विद्यालय अप्ठ्यारोमा परेका छन् । यही अप्ठेरोका कारण कतिपय विद्यालयले यो विषय रुटिनमा व्यवस्था गरे पनि पढाउने गरेका छैनन् ।

पिपेको बागेश्वरी निमाविमा कक्षा ६ मा पढ्ने नवीन पुन कम्प्युटर नै नदेखेको बताउँछन् । रिसाङको त्रिभुवन निमाविकी सविता वलीले पनि अहिलेसम्म कम्प्युटर देखेकी छैनन् । ‘सरले मौखिकरुपमा पढाउनुहुन्छ तर कम्प्युटर नहुँदा कस्तो हुन्छ देख्न पाएको छैन,’ उनले भनिन् ।

त्यस्तै पञ्चभयार मावि खगेनकोट जिकुवामा कस्तो हुन्छ कम्प्युटर थाहा नै नभएको यहाँका विद्यार्थीले बताएका छन् । जाजरकोटमा ६ कक्षामा पढ्ने करिब सात हजार विद्यार्थी छन् । उनीहरुको वार्षिक परीक्षा आउन दुई महिना मात्र बा“की छ । ‘विद्यार्थीले यतिबेलासम्म कम्प्युटर देखेका छैनन् न त पढाइ नै भएको छ, कसरी परीक्षा लिने हो ?’ बागेश्वरी निमावि पिपेका शिक्षक कालिका शाहले भनिन् । आवश्यक तयारीबिना नै यो विषय थप्दा जाजरकोटमा पूरै पढाइ खाली भएको छ ।

जिल्ला शिक्षा अधिकारी गीरमान थापा भने कम्प्युटर शिक्षकका लागि एक महिनाभित्रै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताउँछन् । जिल्लाका प्रायः सबै विद्यालयमा विद्युत् सुविधा नहु“दा कम्प्युटर पु¥याउन नसकिएको उहा“ले स्वीकार गरे । सुरुमा भएकाले समस्या भए पनि बिस्तारै समस्या समाधान हँुदै जाने जिल्ला शिक्षा अधिकारी थापाको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us