कन्चनपुरमा यातायात बन्द खुल्यो

काठमाण्डु टुडे २०७० पुष २८ गते ५:२८ मा प्रकाशित

kanchanpur_district_mapकञ्चनपुर, २८ पुस–सुदूरपश्चिमका यातायात व्यवसायीहरुद्वारा गरिएको यातायात बन्द कञ्चनपुरमा आइतबार बिहानैदेखि खुलेको छ । थारू समुदायको आउँदै गरेको माघी पर्व र महेन्द्रनगर बजारमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलालाई मध्यनजर गर्दै यातायातका साधन सञ्चालनमा ल्याइएको सेती महाकाली बस तथा मिनीबस व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष बाबुराम शर्माले जानकारी दिए ।

दुई दिनदेखि बन्द यातायात खुलेपछि अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । कर्णाली रिभर यातायातको बस सञ्चालनमा रोक लगाइएपछि सुदूरपश्चिमका विभिन्न १४ यातायात सङ्घ–सङ्गठनले विरोधस्वरुप दुई दिनअघिदेखि यातायात सेवा ठप्प पारेका थिए ।

यही पुस १६ गते कैलालीको बलिया सडकखण्डमा कर्णाली रिभरको ना ४ ख ९५६९ नम्बरको बसले भे २ प ५९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार टीकापुरका दुईजना स्थानीयवासीको मृत्यु भएको थियो । मृतकका परिवारले क्षतिपूर्तिबापत १० लाख रुपैयाँ माग गर्दै कर्णाली रिभरका बस सञ्चालनमा रोक लगाएपछि यातायात व्यवसायीहरुले यातायात सेवा सञ्चालन बन्द गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us