चितवन लागुऔषध ओसारपसारको ‘निकासी विन्दु’ बन्दै

काठमाण्डु टुडे २०७० पुष २८ गते ३:१४ मा प्रकाशित

रत्ननगर, २८ पुस–पछिल्लो समयमा चितवन लागुपदार्थ ओसारपसारको मुख्य विन्दु बन्दै गएको पाइएको छ । लागूपदार्थविरुद्ध विगत केही महिनादेखि सुरु गरेको प्रहरी कारबाहीमा यस्तो पाइएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो तीन महिनाको अन्तरालमा प्रहरीले पक्राउ गरेका २२ जना लागुऔषध ओसारपसारका कारोबारीबाट यस्तो रहस्य खुलेको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।

उनीहरुले शरीरका विभिन्न अङ्गमा टेप लगाएर, गाडीका सिटमुनि, सुटकेसमा हालेर लागुऔषध चितवन ल्याउने गरेका छन् । चितवनमा मोलमोलाई सकेपछि मात्रै अन्यत्र लैजाने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् ।

उहाँका अनुसार विशेषगरी भारतको रक्सौल नाका हुँदै चितवन ल्याएर कारोबारीहरुले चितवनमा लागुपदार्थ राख्ने र त्यसलाई राजधानीलगायत विभिन्न क्षेत्र पु¥याउने गरेका छन् । प्रहरीले पछिल्ला दिनहरुमा ३३२ एम्पुल डाइजोपाम, व्युप्रिनोर्फिन ३२७ एम्पुल, फेनारगन ३२८ एम्पुल, फेन्सिडिल पाँच हजार एमएल, नाइटोजेपाम १०८ ट्याबलेट, खैरो हेरोइनसमेत ठूलो मात्रामा बरामद गरिएको जनाएको छ ।

साथै, १५० भन्दा बढी लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

प्रहरीले  १० हजार ५०० लिटर घरेलु मदिरा बरामद गरी एक लाख ५९ हजार राजस्व सङ्कलन गरेको प्रहरी प्रमुख कार्कीले बताए । लागुऔषध कारोबारमा एकजना प्रहरीसमेत संलग्न भएको पाइएको छ । धनुषा जिल्लाको इटरुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान दिवाकर राई लागुऔषधसहित पक्राउ परेका हुन् ।

यही साता भरतपुर–१० घर भएका प्रहरी जवान राईसमेत तनहुँका आशिष कायस्थ, चितवन भरतपुरका विनोद गुरुङ र जेरेन चौधरी पक्राउ, चितवन जगतपुरका सन्दीप गुरुङ, मेघौलीका विजय महतो, भरतपुर–११ का मैच्याङ लामा र अमरदीप आलेलाई पक्राउ गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us