
काठमाण्डु, २८ पुस–संविधानसभाको पहिलो बैठक आह्वानपछि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यलाई थप तिव्रता दिएको छ । सभापति सुशील कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको पहललाई तिव्रता दिएका हुन् । सबैभन्दा ठूलो दलको सभापति भएकोले कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाउन आइतबारदेखि आन्तरिक छलफल शुरु गरेको उनी निकट नेताहरुले जानकारी दिएका छन् ।
‘कोइरालाकै नेतृत्वमा काँग्रेस चुनावमा गएको र ठूलो पार्टी पनि भएकोले पहिलो दावी सभापतिकै हुन्छ,’ काँग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले भने, ‘उहाँ (सभापति) नै प्रधानमन्त्री हुने गरी पहल हुन्छ ।’
स्रोतका अनुसार काठमाण्डु उपत्यका बाहिर रहेका उपसभापति रामचन्द्र पौडेल काठमाण्डु फर्किएपछि शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी छ । छलफलका लागि सभापति कोइरालाले बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल लगायत पदाधिकारीहरुलाई आफ्नै निवासमा बोलाएका छन् । उनले सर्बसम्मत उम्मेदवार आफैलाई बनाउन नेताहरुलाई आग्रह गर्ने बताइएको छ ।
सरकारको नेतृत्वमा देउवा र पौडेलले पनि दावी गरेपछि काँग्रेसमा विवाद देखिएको छ ।