संसद सचिवालयको व्यस्तता बढ्यो

काठमाण्डु टुडे २०७० पुष २८ गते ४:४९ मा प्रकाशित

काठमाण्डु, २८ पुस– संविधानसभाको पहिलो बैठक आह्वान भएपछि संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ । संविधानसभाको पहिलो बैठक आह्वान नहुदैदेखि तयारी जारी राखेको सचिवालयले अबदेखि बैठक सुरु हुनुपूर्वको तयारी थालेको हो ।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पहिलो कामको रुपमा महासचिव मनोहर प्रसाद भट्टराईबाट सबै सभासदहरुलाई बैठकमा सहभागी हुन आह्वानपत्र पठाइने बताए । ‘पहिलो बैठकको कार्यसूची बनाउन शुरु गरेका छौं,’ प्रवक्ता शर्माले भने, ‘सबभन्दा शुरुमा सबै सभासदहरुलाई बैठकमा सहभागी हुन पत्राचार गर्ने र जेष्ठ सदस्यको सपथ ग्रहणको प्रक्रिया मिलाउने काम शुरु हुन्छ ।’

साथै सभासदहरुलाई प्रशिक्षण दिने कामको तयारी पनि सचिवालयले थालेको छ । ‘अधिकांश नयाँ अनुहारका सभासद रहेकोले ऐन नियमबारे जानकारी गराउनु पर्ने हुन्छ,’ प्रवक्ता शर्माले भने ।

सचिवालयले यसअघि भौतिक पूर्वाधारको तयारी लगायत सबै काम सम्पन्न गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us