अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द हुने

काठमाण्डु टुडे २०७० पुष २७ गते १४:११ मा प्रकाशित

राजविराज, २७ पुस– जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लामा अनुमतिबिना सञ्चालित निजी विद्यालयहरू बन्द गराउने भएको छ ।

अहिले बन्द गराइए त्यहाँ अध्ययनरत विद्यार्थीहरू मारमा पर्ने भएकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय प्रशासनको सहयोगमा त्यस्ता विद्यालयलाई बन्द गराइने जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए ।

सप्तरीमा गत वर्ष ३५ वटा अनुमतिबिना सञ्चालित विद्यालयलाई बन्द गराउने प्रयास गरिएको थियो । सप्तरीका विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गर्नमा सहयोग गर्न जिल्ला शिक्षा कार्यालय सप्तरीले सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ । जिल्लामा रहेको ४ सय ९४ सामुदायिक तथा १ सय १० संस्थागत विद्यालयमध्ये १ सय ५० विद्यालयलाई विद्यालय शान्ति क्षेत्र घोषणा गरिएपनि अन्य विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न सकेका छैन ।

भण्डारीले विद्यालय शान्ति क्षेत्र घोषणासम्बन्धी गतिविधिको कार्यान्वयन, अनुगमन र प्रबद्र्धनलगायतका कार्यमा समन्वय तथा सहकार्य गर्न सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताए ।

जिल्ला शिक्षा कार्यालय सप्तरीले शनिबार सप्तरीका सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिशिअ भण्डारीले घोषणा गरिएका विद्यालयहरूमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा छुट्टाछुट्टै आचारसंहिता जारी गरिएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us