प्रचण्ड,बाबुराम र नारायणकाजीलाई गुट भत्काउन सल्लाहकारको सुझाव

काठमाण्डु टुडे २०७० पुष २७ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २७ पुस–एकीकृत माओवादीको सल्लाहकार परिषदको बैठकले चुनावमा पार्टी पराजको मुख्य कारण आन्तरिक कमजोरी नै भएको ठहर गरेको छ ।Prachanda-and-company

काठमाण्डुमा दुई दिनसम्म चलेको परिषदको बैठकले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक कारणसँगै केही बाह्य कारण पनि रहेको ठहर गरेको हो ।

‘चुनावी परिणाम र त्यसपछि पार्टीमा देखिएका विभिन्न समस्याका विषयमा सल्लाहकारहरुले दूरगामी र रचनात्मक सल्लाह दिएका छन्,’ बैठकपछि एमाओवादी सल्लाहकार परिषदका संयोजक नन्दकुमार प्रसाईंले भने, ‘पार्टी नेतृत्व एक भएर अघि बढ्नुपर्छ भन्नेमै हाम्रो मुख्य जोड रह्यो ।’

एमाओवादीका सल्लाहकारहरुले माघ दुई गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा एउटै प्रतिवेदन ल्याउन पनि नेतृत्व समक्ष आग्रह गरेका छन् ।

‘सबै नेताहरु एक ठाउँमा बसेर एउटै प्रतिवेदन ल्याउनुस भनेर हामीले भनेका छौं,’ प्रसाईंले भने, ‘हाम्रो कुरामा शीर्ष नेताहरु सहमत देखिनुभएको छ ।’

उनले चुनावमा कतिपय क्षेत्रमा पार्टी भित्रैबाट अन्तर्घात भएकाले हार व्यहोरेको भन्दै अन्तर्घातीमाथि कारबाहीको माग समेत बैठकले गरेको बताए ।

बैठकमा वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीभित्र अन्तर्संघर्ष हुँदैमा आत्तिनु नपर्ने भन्दै पार्टी नफुट्ने समेत बताएको प्रसाईंले जानकारी दिए ।

बैठकमा सल्लाहकारहरुले अध्यक्ष प्रचण्ड र नेताद्धय भट्टराईलाई पार्टी भित्र गुट भत्काउन सुझाव दिएका छन भने तीनै जना नेताहरुले आफूहरुले गुट नबनाएर बहस गरेको प्रष्टीकरण दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us