
साउदी अरेबियामा लगातार ८ बर्षभन्दा लामो समय बसेका र तुलनात्मकरूपमा उच्च आम्दानी भएका विदेशी कामदार घर फर्काउनेबारे साउदी अरेबिया सरकारले हालै अघि सारेको प्रस्ताव कार्यान्वयन भए निक्कै कम नेपाली श्रमिकलाई मात्र असर गर्ने त्यहाँ स्थित नेपाली राजदूतले बताएका छन्।
स्वदेशी कामदारलाई रोजगारीमा प्रोत्साहान गर्ने नीति अनुरुप साउदी अरेबियाले केही समय यता कडा श्रम कानुन बनाएपछि त्यसको मारमा नेपाली श्रमिकहरु पनि पर्ने गरेका छन्।
प्रस्ताव
लामो समय काम गरेका विदेशी कामदारहरु घर फर्काउने लगायतका कडा व्यवस्था सहितको कानुन साउदी अरेबियाको श्रम मन्त्रालयले प्रस्ताव गरेको खबर यसै हप्ता आएको हो।
सो प्रस्तावित व्यवस्था ८ बर्ष भन्दा बढि समय बसेका र मासिक ६ हजार रियाल आम्दानी गर्ने विदेशी कामदार प्रति लक्षित रहेको रियादस्थित नेपाली राजदूत उदयराज पाण्डेले बीबीसीलाई बताए।
निर्णय हुन बाँकि सो व्यवस्था लागू हुन गएमा पनि त्यसबाट निकै कम नेपाली श्रमिक प्रभावित हुने उनको भनाई छ।
“६ हजार रियाल भनेको डेढ लाख रुपिँया नेपाली हुन आउँछ। त्यत्रो तलब हुने नेपाली यहाँ कम छन्। त्यो व्यवस्थाले एक डेढ सय जनालाई प्रभाव पार्छ,” उनले भने।
कडाई
नेपालीहरुका लागि वैदेशिक रोजगारीका निम्ति मलेसिया र कतारपछि तेश्रो रोजाईको गन्तव्य रहेको साउदी अरेबियामा झन्डै ५ लाख नेपाली श्रमिक रहेको अनुमान गरिन्छ।
विदेशी श्रमिकहरुको साटो स्वेदेशी नागरीकलाई नै रोजगारीमा प्रोत्साहान गर्न उक्त खाडी राष्ट्रले २ बर्ष अघि “निताकत” भनिने नीति अवलम्बन गरेको छ।
तर त्यसको कारण त्यहाँ काम गर्न जाने नेपालीहरुको संख्या नघटेको राजदूत पाण्डेले बताए।
उनले भने,“धेरै नयाँ परियोजनाहरु सुरु भएकाले कामदारको माग बढ्दै जान्छ त्यो घट्ने म देख्दिन।”
नेपाली दूतावासका अनुसार गैरकानुनी रुपमा साउदी अरेबियामा रहेका झन्डै ४५ हजार नेपाली २ बर्ष यता स्वदेश फर्काइएका छन्।
त्यसमध्ये १५ हजारलाई प्रहरीले गिरफ्तार गरी नेपाल फर्काएको थियो भने विभिन्न सजायं पाएर जेलमा रहेका बाँकी आममाफी पाएर घर फर्केका थिए। BBC Nepali Service