महोत्तरीमा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २७ गते ७:३८ मा प्रकाशित

महोत्तरी, २७ पुस – महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताए ।

शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् ।

यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ । तीन दिनअघि ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us