औलो नियन्त्रणका लागि एकीकृत अभियान

काठमाण्डु टुडे २०७० पुष २७ गते ५:०५ मा प्रकाशित

नेपालगन्ज, २७ पुस । औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने र ज्यान पनि लिन सक्ने भएकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

तथ्यांकअनुसार, मुलुकको ६५ जिल्ला औलो (मलेरिया) रोगको जोखिममा रहेकोमा इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिममा छन् ।

सोलुखुम्बु, भक्तपुर, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् ।

सरकारले अन्य जिल्लामा जस्तै बाँके जिल्लामा पनि औलो रोग नियन्त्रणका लागि सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा औलोको जाँच र उपचार गर्ने व्यवस्था मिलाएको छ ।

सन् २००६ मा बाँके जिल्लाको फत्तेपुर, होलिया र गंगापुरमा महामारीको रुपमा पैmलिएको औलो रोगबाट ३३ जनाको मृत्यु भएपछि यस जिल्लामा औलो रोग नियन्त्रणको विशेष अभियान नै सञ्चालन गरिँदै आएको छ । त्यसपछि भने सो रोगबाट कसैको मृत्यु भएको छैन ।

यस जिल्लाको औलो रोग प्रभावित २० गाविसमध्ये जोखिममा रहेका फत्तेपुर, लक्ष्मणपुर, काँलाफाँटा, कोहलपुर र रझेना गाविसमा समेत रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us