वागलुङ बसपार्क निर्माण कार्य तिब्र

काठमाण्डु टुडे २०७० पुष २७ गते ४:०४ मा प्रकाशित

बागलुङ, २७ पुस – जग्गा विवादका कारण नौ वर्षदेखि अलपत्र बनेको बागलुङ बसपार्क निर्माणले ढिलो भए पनि गति लिएको छ । वि. सं २०६१ मा बागलुङ नगरपालिका–११ स्थित उपल्लाचौरमा स्थानीयवासीबाट ५९ रोपनी जग्गा प्राप्त गरी नगरपालिकाले नयाँ बसपार्क निर्माण गर्न काम अघि बढाएको थियो ।
निर्माणको पहिलो चरणमै स्थानीय जग्गाधनीबीचको विवाद र अवरोधका कारण बसपार्क निर्माणको काम रोकिएको थियो ।

बागलुङ नगरपालिकाले बसपार्क निर्माण गरिने क्षेत्रको जग्गा सम्माएर प्रारम्भिक चरणको निर्माण कार्य अघि बढाएको थियो । लामो समयसम्म विवाद कायमै रहँदा बसपार्क बन्ने कुनै छाँटकाँट नदेखिएपछि नगरपालिकाले नगरपालिका–३, चिप्लेटीमा अस्थायी प्रकृतिको बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

बागलुङ नगरपालिका र बसपार्क निर्माणस्थलका जग्गाधनीबीच लामो समयदेखि छलफलबाट विवाद टुङ्ग्याउने प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेको थिएन । पटकपटकको प्रयासपछि जग्गाधनीबाट नगरपालिकाले साढे १७ रोपनी जग्गा निःशुल्क पाउने भएको छ ।

‘कुल ५९ रोपनी जग्गा २०६१ सालमा नगरपालिकालाई दिने सहमतिअनुसार काम अघि बढेको थियो’ नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेलले भने ‘तर, हालै भएको सहमतिअनुसार साढे १७ रोपनी जग्गा नगरपालिकालाई दिन जग्गाधनी सहमत भएका छन्, बाँकी जग्गा जग्गाधनीलाई नै फिर्ता दिन्छौँ ।’
कँडेलले बसपार्क व्यवस्थापन समिति र स्थानीय जग्गादातासँको छलफलबाट समाधान निकालिएको बताए ।

नगरपालिका, व्यवस्थापन समिति र स्थानीय जग्गाधनीबीच मौखिक समझदारी भइसकेको र यसलाई माघको पहिलो साताभित्रै मूर्तरुप दिइने भएको छ । कँडेलले माघ महिनाको सुरुमै जग्गा पास गर्ने काम गरिने र केही वर्षभित्रैमा नयाँ बसपार्क निर्माणको कामलाई पूर्णताः दिने जानकारी दिए ।

‘उपल्लाचौरमा बन्ने बसपार्कलाई मध्यपहाडी लोकमार्गको केन्द्र (हब) बसपार्कको रुपमा निर्माण गर्ने सोच बनाएका छौँ” कँडेलले भने, ‘अहिले रहेको चिप्लेटी बसपार्कको पनि स्तरोन्नति गरेर दुवै बसपार्कलाई अत्याधुनिक सुविधायुक्त बसपार्कको रुपमा व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ ।’

नयाँ बसपार्क बन्ने स्थल मध्यपहाडी लोकमार्गको छेउमै पर्दछ । बसपार्क क्षेत्रका जग्गाधनीको फिर्ता हुने जग्गाको प्लटिङ नगरपालिका आफँैले गरिदिने भएको छ । त्यस्तै बसपार्कलाई बहुआयामिक बनाउन व्यवसायिक कम्प्लेक्स पनि बनाउने लक्ष्य नगरपालिकाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us