तीन हजार मजदुरले पुनः रोजगारी पाए

काठमाण्डु टुडे २०७० पुष २७ गते ३:०१ मा प्रकाशित

कपिलवस्तु, २७ पुस – चार महिनादेखि आकस्मिक बन्द भएका दुई रोजिन एन्ड टर्पेन्टाइन उद्योग सुचारु भएपछि अलपत्र परेका तीन हजार मजदुरले पुनः रोजगारी पाएका छन् ।

कच्चा पदार्थको अभावले चार महिनादेखि बन्द भएका उद्योग कच्चा पदार्थको आपूर्ति सहज भएपछि बुधबारबाट सुचारु भएका हुन् । जिल्लाको वीरपुर–४, गडगौरास्थित गणपति र स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन उद्योगले आफ्नो उत्पादन कार्य सुचारु गरेका हुन्  ।

कच्चापदार्थ अभाव भएसँगै आकस्मिक बन्द भएको सूचना टाँसेर मजदुरको सम्पर्कबाहिर पुगेका उद्योग सञ्चालकका कारण मजदुर अलपत्र परेको भन्दै अगुवा मजदुर नागेन्द्र पासीले पुनः यस्तो स्थिति आउन नहुने बताए ।

वार्षिक चार हजार मेट्रिक टन उत्पादन क्षमता भए पनि विविध कारणले दुई हजार ५०० देखि तीन हजार मेट्रिक टनसम्म माल उत्पादन हुने गरेको गणपति रोजिन एन्ड टर्पेन्टाइनका प्रबन्धक जीवनारायण खनालले जानकारी दिए ।

वार्षिक करोडौँ रुपैयाँको कारोबार हुने उद्योगले नेपाल, भारतका अतिरिक्त तेस्रो मुलुकसम्म आफ्ना उत्पादन बिक्रीका लागि पठाउने गर्दछ ।

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ सल्लाको खोटो नेपालको अर्घाखाँची, सल्यान, रुकुम, प्युठानलगायतका जिल्लाबाट संकलन भई आउने गर्छ । बढ्दो विद्युत् भार कटौती तथा अन्य विविधि कारणले अहिले उद्योगले मार खेप्नु परेको उद्योगीको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us