सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट

काठमाण्डु टुडे २०७० पुष २७ गते २:२० मा प्रकाशित

electryसिरहा, २७ पुस – दुई नगरपालिका र १०६ गाविस रहेको सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा मासिक लाखौँ रुपैयाँको राजस्व चुहावट हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण लहान केन्द्रअन्तर्गत ७४ गाविस र लहान नगरपालिका पर्छन् भने सिरहा केन्द्रअन्तर्गत ३२ गाविस र सिरहा नगरपालिका पर्छन् । दुवै केन्द्रअन्तर्गतका गाविस र नगरपालिकामा करिब ३३ प्रतिशत विद्युत् चुहावट हुन्छ ।

नगरपालिकामा सबभन्दा न्यून र दक्षिणवर्ती गाविस अर्थात् विकट मानिने केही गाविसमा बढी चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण केन्द्र लहानका प्रमुख आमोदकुमार यादव बताउँछन् ।

उनले विद्युत् चुहावट नियन्त्रण गर्न अनुगमन कार्य जारी रहेको भन्दै विद्युत् चुहावट गर्ने उपकरण र व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको बताए । अनुगमन गरेर कारबाही गर्ने कार्य तीव्र पारे पनि विद्युत् चुहावट नरोकिएको उनको गुनासो छ ।

बिहीबार अनुगमनका क्रममा भगवानपुर, सोठियाइन, लहरनियाँ, सरहनचियालगायतका दक्षिणवर्ती गाविसबाट २७ थान विद्युतीय मोटर बरामद गरिएको प्रमुख यादवले जानकारी दिए । बरामद गरिएका मोटर जरिवाना लिएर छाड्ने उनले बताए ।

बरामद गरिएको विद्युतीय मोटरको एचपीअनुसार दुई हजारदेखि आठ हजारसम्म जरिवाना असुल गर्दै आएको प्रमुख यादवले बताए । अवैध तरिकाले हुकिङ गरेर विद्युतीय मोटर जडान गर्ने व्यक्तिलाई चार हजार ५०० जरिवाना गरिने गरेको पनि उनजे जानकारी दिए ।

विद्युतीय मोटर हुकिङ गरेर अवैध तरिकाले जडान गर्दा करेन्ट लागेर जडानकर्ताको ज्यानै जाने खतरासमेत रहन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us