कोचिङ सञ्चालकलाई अन्तिम चेतावनी

काठमाण्डु टुडे २०७० पुष २७ गते १:४९ मा प्रकाशित

जुम्ला, २७ पुस – जिल्ला शिक्षा कार्यालय जुम्लाले अवैधानिक तवरबाट एसएलसी कोचिङ कक्षा सञ्चालन गरेका सञ्चालकलाई वैधानिकता नलिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा नियमावलीअनुसार कोचिङ कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान भएपनि जुम्लामा त्यसको बेवास्ता गरी मनपरी ढंगबाट कोचिङ कक्षा सञ्चालन गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी जीवनबहादुर भण्डारीले बताए ।

यता जिल्ला बाल क्लब सञ्जाल र जिल्ला बालकल्याण समितिले त्यस्ता कोचिङ कक्षाको अनुगमन गरी शिक्षकले मापदण्डअनुसार अध्ययन अध्यापन नगरेको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा पेस गर्दै गुणस्तरीय शिक्षा र बालबालिकाको स्वतन्त्र पढ्न पाउने अधिकारको हनन भएको प्रष्ट्याएका छन् ।

त्यसैगरी जिल्ला बाल क्लब सञ्जाल अध्यक्ष राजन नेपाली नेतृत्वको टोलीले अव्यवस्थित ढंगबाट भएका कक्षा सञ्चालनको नियमनका लागि जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।

शिक्षा ऐन, नियमावलीअनुरुप सञ्चालन नभएका ब्राइट फ्यूचर, मनकामना र पाल ट्यूसन सेन्टरलगायतका अन्य ट्यूसन सेन्टरको यही पुस २८ गते आइतबार अनुगमन गर्ने र मापदण्ड बमोजिम सञ्चालन नभएका टयूसन सेन्टरलाई आवश्यक कारबाही गर्नुका साथै धरौटी जफत गरिने निमित्त जिल्ला शिक्षा अधिकारी भण्डारीले बताए ।

बाल अनुगमन टोलीले भने एउटै कक्षामा ७० देखि १०० जना विद्यार्थी भएकाले कक्षा कोठा कक्षा जस्तो नभई सम्मेलन हल जस्तो भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us