
काठमाण्डु, २७ पुस – एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो आधिकारीक अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ ।
तिब्र गतिका बलरहरु महङ्गो सावित भएपछि केन्याले नेपाललाई १ विकेटले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ६६ रनको लक्ष्य केन्याले १ बल अगावै ९ विकेटको क्षतिमा पूरा गर्यो । शक्ति गौचनले १० ओभरमा मात्र २८ रन खर्चिएर ४ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।
यस्तै सागर पुनले ३ तथा बसन्त रेग्मी र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।
नेपालको हारमा निकै महङ्गो सावित भएका सोमपाल कामीले विना कुनै सफलता ८६ रन दिए । अघिल्लो खेलमा सानदार प्रदर्शन गरेका सोमपालले केन्याका ब्याट्सम्यानसामु कुनै जादु देखाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन जोडेको थियो ।
नेपालका लागि ओपनर अनिल मण्डलले सर्बाधिक ६२, विनोद भण्डारीले ४८ तथा प्रदिप ऐरीले ४२ रनको योगदान गरे । यस्तै सरद भेषावकर र बसन्त रेग्मीले समान २३ रन जोड्दा पृथु बास्कोटाले २१, ज्ञानेन्द्र मल्लले १४, सागर पुनले १३ तथा महेश क्षेत्रीले ६ रन जोडे । शक्ति गौचन ५ रनमा अभिजित रहे ।