नयाँ डीन विरुद्ध डा. केसी अनसन बस्दै

काठमाण्डु टुडे २०७० पुष २७ गते ३:२६ मा प्रकाशित

Dr.Gobinda-KCकाठमाण्डु, २७ पुस – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विवादास्पद छविका डाक्टर शशी शर्मा डिन नियुक्त भएको विरोधमा बरिष्ठ हार्डजोर्नी विशेषज्ञ गोविन्द केसीले अनसन बस्ने भएका छन् ।

डाक्टर केसीले शुक्रबार काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी शनिबारदेखि दिउँसो दुई बजेदेखि अनसन शुरु गर्ने घोषणा गरेका हुन् ।

केसीले यसअघिकै डिन प्रकाश सायमीलाई पुनर्वहाली गर्नुपर्ने, संस्थामा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, नयाँ सम्बन्धन दिने काम बन्द गर्नुपर्ने लगायत माग राखेका छन् ।

विहीबार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले डाक्टर सायमीले दिएको राजीनामा स्वीकृत गरी शर्मालाई आईओएममा डिन नियुक्त गरेको थियो ।

शर्मामाथि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष रहँदा मेडिकल कलेजको पूर्वाधारबारे गलत प्रतिवेदन दिएको र पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न भ्रष्टाचार रोक्न माग गर्दै यसअघि पनि केसी लामो समयसम्म अनसन बसेका थिए ।

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ, अविवाहित डा. केसी त्रिविको यस्तै प्रकृतिको क्रियाकलापविरुद्घ गत वर्ष भदौमा ४ दिन र त्यसको पाँच सातापछि ६ दिन गरी दुई पटक आमरण अनशन बसेका थिए ।

त्यसपछि सरकारले बाध्य भएर निर्णय फिर्ता लिँदै राजनीतिक भागबन्डाका आधारमा नभएर स्वच्छ, छवि एवं वरिष्ठताका आधारमा डा. प्रकाश सायमीलाई डिन नियुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us