सैनिक ‘कू’चाहँदैनन थाइल्याण्डमा बुद्धिजीवी

काठमाण्डु टुडे २०७० पुष २६ गते ११:३७ मा प्रकाशित

थाइल्यान्ड,  पुस–थाइल्यान्डका बुद्धिजीवीहरुले थाइल्यान्डमा कुनैपनि हालतमा सैनिक कू गर्न नहुने धारणा राखेका छन् । उनीहरुले थाइल्यान्डमा जारी रहेको राजनीतिक अस्थिरताले हिंसाको रुपमा लिनसक्नेतर्फ सबैको ध्यानाकर्षण पनि गराएका छन् ।
थाइल्यान्डका विभिन्न विश्वविद्यालयहरुमा रहेका प्राज्ञहरुले थाइल्यान्डमा राजनीतिक विरोधका नाममा भइरहेका क्रियाकलापले हिंसालाई निम्ता गरिरहेको बताएका छन ।
उनीहरुले सरकार र विपक्षीहरुलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट सबै समस्याको समाधान खोज्नका लागि पनि आग्रह गरेका छन् । यस्तै अवस्था रहेमा ढिलो चाँडो थाइल्यान्डमा पुनः सैनिक कूको अवस्था रहेको तर्फ पनि उनीहरुले सबैको ध्यानाकर्षण गराएका छन ।
थाई सरकारले आगामी फेब्रुअरी २ मा आम निर्वाचनको आह्वान गरेको छ । सोही निर्वाचनको विरोधका कारण राजधानी बैंककमा विगत लामो समयदेखि आन्दोलन जारी राखिएको छ । विपक्षीहरुको आन्दोलनका कारण विगतका केही दिनयता कम्तीमा पनि आठ जनाको ज्यान गएको छ ।
सत्तारुढ दलले यो निर्वाचनलाई प्रजातन्त्र जोगाउँ अभियानका रुपमा लिएको छ । आगामी निर्वाचनका लागि आयोजना गरिने सबै खालका निर्वाचन अभियानमा पनि यसलाई उक्त पार्टीको नाराका रुपमा अघि सारिको छ ।
सोही निर्वाचनको विरोधमा यही जनवरी १२ देखि विपक्षीहरुले बैंककलाई ठप्प पार्ने चेतावानी पनि दिएका छन् । तर सरकारले भने जस्तोसुकै अवस्थामा पनि निर्वाचन विरोधी अभियानलाई परास्त गर्ने बताएको छ ।
यसअघि पनि केहीदिन पहिला उम्मेदवारी दर्ता गराउने दिन उक्त कार्यमा अवरोध पुरयाएका थिए । उम्मेदवारी दर्ता गर्न नसकिएका उम्मेदवारहरुलाई अर्काेदिन दर्ताको प्रबन्ध मिलाइएको थियो ।
थाइल्याण्डको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरूले आन्दोलन सुरु गरेका हुन् । उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै राखेका उनीहरूले प्रधानमन्त्री यिङलक सिनावात्राको राजिनामा मागेका छन् ।
सिनावात्राको सरकारले केही समययतादेखि देशमा व्यापक मात्रामा विरोधको सामना गरिरहेको छ । तरपनि देशमा रहेका राजनीतिक शक्तिहरुमा अधिकांशले सरकारको समर्थन गरिरहेकोले सेना लगाएरै भए पनि निर्वाचन गर्ने तयारीमा सरकार रहेको छ ।
सेना लगाएरै निर्वाचन गर्ने तयारी सरकारले गरेकोले सुरक्षाको समस्या नपर्ने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले थाई राष्ट्रिय सेनालाई यस विषयमा निर्देशन भइसकेको पनि बताएका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us