नेपाल नामिवियासँग ४ रनले पराजित

काठमाण्डु टुडे २०७० पुष २६ गते ३:२० मा प्रकाशित

nepali national cricket teamकाठमाण्डु, २६ पुस–न्यूजिल्याण्डमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको आधिकारिक अभ्यास खेलमा शुक्रबार नेपाल नामिबियासँग चार रनले  पराजित भएको छ ।

२३२ रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा २ सय २७ रन मात्र बनाउन सक्यो ।

नेपालका शुरुवाती ब्याट्सम्यानले राम्रो खेल्न नसकेपछि दबावमा परेको नेपालका लागि विनोद भण्डारी र बसन्त रेग्मीले शानदार प्रदर्शन गर्दै आशा जगाएका थिए । अन्तिम १० ओभरमा झण्डै प्रति ओभर १० रन आवश्यक थियो । भण्डारीले ६० बलमा ६५ रन बनाए भने रेग्मीले २६ बलमा ३९ रन बटुले तर दुबै जना खेलको अन्त्यसम्म टिक्न नसकेपछि जितको नजिक पुगेर पनि नेपाल असफल भयो ।

यी दुई बाहेक सागर पुनले २१, शरद भेषावकरले २०, अनिल मण्डलले १५, पृथु बास्कोटाले १३ र शक्ति गौचनले १० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २ सय ३१ रन बनाएको थियो । ३० ओभरमा ३ विकेट गुमाएको नामिबियाका लागि स्टेफन बार्डले ७३ रन बनाउदै खेलको लयलाई आफ्नो टोलीको पक्षमा राखेका थिए । उनले ९ चौका र २ छक्का प्रहार गरे । निकोलस स्कल्जले सर्वाधिक ७९ रन बनाए ।

नेपालका युवा बलर सोमपाल कामीले १० ओभरमा ३६ रन दिएर ४ विकेट झारेका थिए । उनले राम्रो शुरुवात गरे पनि अन्य बलरहरुले त्यो सफलतालाई जारी राख्न सकेनन् । बसन्त रेग्मीले २ विकेट लिए । जितेन्द्र मुखिया, सागर पुन र पृथु बास्कोटाले एक–एक विकेट लिए ।

यो अभ्यास खेलमा दुवै टोलीबाट १५÷१५ जना खेलाडी सहभागी गराइएको थियो ।

आइसीसी विश्वकप क्रिकेट छनोट खेल न्यूजील्यान्डमा यही पुस २९ गतेदेखि माघ १८ गतेसम्म हुँदैछ । सो खेलमा नेपाल समूह ‘क’ मा रहेको छ । यो समूहमा युएई, स्कटल्यान्ड, क्यानडा र हङकङ छन् । समूह ख मा नेदरल्यान्ड्स, केन्या, नामिबिया, पपुआ न्यूगिनी र उगान्डा रहेका छन् । आइसीसीका अनुसार छनोट हुने तीन टोलीले आगामी सन् २०१५ मा अस्ट्रेलिया र न्यूजील्यान्डको संयुक्त आयोजनामा हुने विश्वकपमा खेल्न पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us