
काठमाण्डु, २४ पुस– चीनले आफ्नो देशमा रहेका सम्पूर्ण श्रम शिविरहरु पूर्ण रुपमा बन्द गरेको छ । चीनले यस्ता श्रम शिविर बन्द गर्ने निर्णय गत नोभेम्बरमा गरेको भए पनि यसलाई चिनियाँ सरकारले गत हप्ता औपचारिकता दिएको चीनको सरकारी समाचार पत्र वेजिङ्ग न्यूजले जनाएको छ । अहिले बन्द गरिएका श्रम शिविरहरुबाट तीनमा रहेका साईनबोर्डहरु समेत हटाईएको छ ।
देशभरि रहेका सयौं श्रम शिविरहरुमा लाखौं मानिसलाई बन्दी बनाएर चीनले मानव अधिकारको हनन गरेको भन्दै पश्चिमा मुलुकहरुले चीन विरुद्ध आवाज उठाउँदै आएका थिए ।
चीनमा यस्ता श्रम शिविरहरु पाँच दशक भन्दा अघिदेखि कायम थिए । विभिन्न सामाजिक अपराध गर्नेहरुलाई कैद र शिक्षाको नीति अनुरुप यस्ता शिविरहरु सन्चालनमा आएका थिए ।
माओकालिन जमानदेखि नै चीनमा यस्ता शिविरहरु रहँदै आएका थिए । राजनीतिक विद्रोह, सानातिना अपराध र प्रशासनको नजरमा कुनै पनि अवरोध पुर्याउने काम गरेको ठहर भएका ब्यक्तिहरुलाई श्रम शिविर बन्दी बनाउने गरिन्थ्यो । श्रम शिविरहरु चीनको न्यायिक ब्यवस्थाको सबैभन्दा विवादित मुद्दा रहँदै आएको थियो । यस्ता श्रम शिविरहरु मध्ये कयौं यौनकर्मी महिलाहरुलाई हिरासतमा राख्न प्रयोग गरिँदै आएको थियो ।