म्यानयूको लगातार तेस्रो हार

काठमाण्डु टुडे २०७० पुष २४ गते १:४४ मा प्रकाशित

Manchester-Unitedकाठमाण्डु, २४ पुस–ईङ्ग्लिस प्रिमियर लिगको शक्तिशाली टोली म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो हार बेहोरेको छ । क्यापिटल वन कप अन्तरगत मंगलबार राति भएको खेलमा म्यानयू सन्डरल्याण्डसँग २–१ ले पराजित भयो ।

म्यानयूले लगातार तीन खेल हारेको सन् २००१ पछि यो पहिलो पटक हो । म्यानचेस्टर युनाईटेड यसै हप्तामात्र तीन खेलमा पराजित भईसकेको छ । म्यानयू एकै हप्ताभित्र तीन खेलमा पराजित भएको यो १९९२ पछि पहिलोपटक हो ।

यसअघि गत आईतबार म्यानयु एफए कपमा स्वानसीसँग २–१ ले पराजित भएको थियो भने त्यसअघि गत बुधबार प्रिमियर लिगका टोटनह्यामसित पनि २–१ ले नै पराजित भएको थियो । स्वान्सीसँगको खेलमा म्यानयुका एक खेलाडी रेडकार्ड पाएर बाहिरिएपछि युनाईटेड १० खेलाडीमा सिमित भएको थियो भने मंगलबार रातिको सन्डरल्याण्डसँगको खेलमा खेलको निर्णय पेनाल्टी गोलबाट भएको थियो । खेलमा हार पछि युनाईटेडका म्यानेजर डेभिड मोयासले आफ्नो क्लबले विपक्षि टोली सँग सँगै रेफ्रीसँग पनि खेल्नु परिरहेको प्रतिकृया दिएका छन् । लिग कप सेमिफाईनलको पहिलो लेगमा हारसँग म्यानयू सन्डरल्याण्डसँग एक गोलले पछि परेको छ ।

म्यानयूको अर्को खेल आगामी शनिबार राति प्रिमियर लिग अन्तरगत स्वान्सी सिटीसँग हुँदै छ । गत वर्षको प्रिमियर लिग विजेता युनाईटेड लिग तालिकाको सातौं स्थानमा छ भने स्वान्सी १३ स्थानमा छ । मंगलबार राति म्यानयुलाई पराजित गर्ने सन्डरल्याण्ड प्रिमियर लिग तालिकाको पुछारमा रहँदै रेलिगेशनको खतरामा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us