कृष्णप्रसाद हत्यामा नयाँ रहस्य खुल्दै, गोली हान्नेको पहिचान भयो : प्रहरी

काठमाण्डु टुडे २०७० पुष २३ गते १२:५० मा प्रकाशित

adhikariचितवन, २३ पुस– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीेको हत्यामा संलग्न रहेको आरोपमा किटानी जाहेरी परेका व्यक्ति भन्दा फरक व्यक्ति संलग्न रहेको खुलेको छ ।

मृतक कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले किटानी जाहेरी दिएका ११ जनाभन्दा बाहेकका व्यक्तिहरु घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ । चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले हत्याअघि अपहरण गर्ने र हत्या गर्ने तीनजना रहेको बताए ।

हत्यामा संलग्न भएका दुईजनाको नाम पहिचान भए पनि अर्का एकको भने नाम थाहा हुन नसकेको उनले बताए । उनीहरुलाई नियन्त्रणमा लिएपछि मात्र विस्तृत जानकारी गराउने कार्कीको भनाइ छ । सोही अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरी २५ दिन हिरासतमा राखेर छोडिसकेको छ ।

प्रमाण जुटाउन नसक्दा किटानी जाहेरी परेका रामप्रसाद अधिकारी र परशुराम पौडेललाई प्रहरीले अदालत नै नपुर्‍याई रिहा गरेको थियो । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनसनमा रहेका मृतकका बुबा नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले किटानी जाहेरी परेकालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको प्रमाण जुट्न नसक्नु र बाबुआमाको अवस्था नाजुक बन्दै गएपछि प्रहरीले घटनाको गहिरोरुपमा अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा अधिकारीलाई अपहरण गर्ने र गोली हान्ने व्यक्ति पहिचान भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरु तत्कालीन नेकपा(माओवादी)को कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । २०६२ मंसिर २६ गते मृतकका दाजु नुरप्रसाद अधिकारीले घटनामा संलग्न भएको अभियोगमा ११ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए ।

दाजु नुरप्रसादले पौडेल र अधिकारीसँगै गोरखा फुजेल ६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल ७ का विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, रामप्रसाद अधिकारी र भीमसेन पौडेल घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी परेकाहरुले आफूहरुको बदनाम भएको भन्दै सामूहिक गिरफ्तारी दिने बताइरहेका बेला प्रहरीको अनुसन्धानले जाहेरी दिएका बाहेकका व्यक्ति घटनामा संलग्न रहेको पुष्टि गरेको छ ।

एसएलसी दिएर हजुरबुबा र हजुरआमालाई भेट्न पूर्वी चितवनको जयमंगलामा आएका १८ वर्षीय कृष्णप्रसादको २०६१ साल जेठ २४ गते हत्या भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us