श्रीमानलाई मारेर तरुल खनेको खाल्टोमा पुरेपछि

काठमाण्डु टुडे २०७० पुष २३ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २३ पुस – पतिलाई मारेर खाल्टोमा पुर्ने काठमाण्डु मातातीर्थकी पूर्णलक्ष्मी तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान शाखा हनुमानढोकाले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न स्थानीय विशाल तामाङलाई समेत पक्राउ गरेको जनाएको छ । अभियुक्तद्वयले मातातीर्थ गाविस वडा नं ६ का ६० वर्षीय सानुकाजी तामाङलाई गएको आइतबार राति खुर्पा र लठ्ठी प्रहार गरी हत्या गर्नुका साथै लासलाई टाक्सिङ जंगलमा तरुल खनेको खाल्टोमा स्याउलाले छोपेर पुरेका थिए ।

मृतक तामाङ पेसाले ज्यामी कार्यमा संलग्न थिए भने पूर्णलक्ष्मी भने गृहिणी हुन् । विगत केही समययता सानुकाजीले लक्ष्मीको आचरणको विषयलाई लिएर झैझगडा गर्नुका साथै कुटपिटसमेत गर्दै आएकाले पतिपत्नीबीचको सम्बन्धमा फाटो आएको थियो ।

अभियुक्तद्वय पूर्णलक्ष्मी र विशालबीच अनैतिक सम्बन्धको विषयलाई लिएर त्रिपक्षीय विवाद उत्पन्न भएपछि अभियुक्त दुबैको मिलेमतोमा सानुकाजीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । दुबै अभियुक्तले हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

उमेरका हिसाबले ४८ वर्षकी पूर्णलक्ष्मी र २२ वर्षीय विशालबीच अनैतिक सम्बन्ध थियो थिएन भन्दा पनि पटकपटक आरोप लगाउँदै आएकाले रिसले दुबै अभियुक्त मिलेर सानुकाजीलाई मार्ने योजना रचेको हुन सक्ने प्रहरीको अनुमान छ ।

हत्यालाई लुकाउन उनीहरुले घरमा डाँका लागेको र डाँकाले नै हत्या गराएको भनी प्रहरीलाई खबर गरेका थिए । सो क्रममा अभियुक्तद्वयले घरका ढोकासमेत आफैँ तोडफोड गरी क्षति पु¥याएको अनुसन्धानबाट खुल्न आएको छ ।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा हत्यामा प्रयोग गरिएको खुर्पासमेत लास गाडिएको खाल्टोबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us