तेस्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाण्डु टुडे २०७० पुष २३ गते ९:२७ मा प्रकाशित

cricketकाठमाण्डु, २३ पुस – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा न्युजिल्याण्डमा रहेको नेपाली क्रिकेट टिम आफ्नो तेस्रो अभ्यास खेलमा पराजित भएको छ ।

पहिलो र दोस्रो अभ्यास खेल जितेको नेपाल तेस्रो खेलमा क्यान्टरबरी क्रिकेट क्लवसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य घरेलु टिमले ४७ ओभर १ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो । सागर पुनले ३, शक्ति गौचनले २ तथा सोमपाल कामी र अनिल मण्डलले समान १ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७ रन जोडेको थियो । नेपालका लागि पृथु बास्कोटाले सर्बाधिक ४७, सागर पुनले ४४, महेश क्षेत्रीले ३४ र कप्तान ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यही पुस २९ गते सोमबारबाट सुरु हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने छ । त्यसअघि वार्मअप खेलमा शुक्रबार नामिविया र शनिबार केन्यासँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष २ भित्र पर्न सके नेपालले सन २०१५ मा न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्तरुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us