एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७० पुष २३ गते १३:०० मा प्रकाशित

Perisdadaकाठमाण्डु, २३ पुस– आउँदो शुक्रबारदेखि काठमाण्डुमा बस्ने भनिएको एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यही पुस २६ गते बस्ने तय भएको बैठक आउँदो माघ २ गतेसम्मकालागि स्थगित भएको हो ।

गृहकार्य नपुगेकोले बैठक स्थगित गरिएको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । ‘दस्ताबेज पनि तयार भै नसकेको र केही गृहकार्य पनि गर्नुपर्ने भएकाले बैठक ६ दिन पछि सर्यो’ उनले भने ।

नेता बोगटीले २६ गते केन्द्रीय सल्लाहकार समितिको र त्यसअघि पूर्व पोलिटव्युरोको बैठक बस्ने जानकारी दिए ।

समानुपातिक सभासद चयनको विषयलाई लिएर एकीकृत माओवादीभित्र विवाद बढेको छ । आफ्ना पक्षका कम सभासद परेपछि नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले चित्त बुझाएका छैनन् । समानुपातिक सभासद चयनको साथै प्रचण्डको कार्यशैलीबाट पनि रुष्ट भएका उनीहरुले सबैलाई मिलाएर आगामी राजनीतिक प्रतिवेदन ल्याउन माग गरेका छन् ।

अध्यक्ष प्रचण्ड अहिले केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव तयार पार्न व्यस्त छन् । नियमित भेटघाट बन्द गरेर उनी प्रतिवेदन लेख्न मै व्यस्त छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गर्न तयार पार्दै गरेको दस्तावेजको संगठनात्मक प्रस्तावमा केन्द्रीय समिति सानो आकारको बनाउने उल्लेख छ ।

यसअघि संविधानसभा निर्वाचनलगत्तै बसेको केन्द्रीय समिति र पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा अनपेक्षित हार बेहोर्नुमा पार्टी कमिटीको भद्धा संरचना पनि प्रमुख कारण रहेकाले कमिटी प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us