डडेल्धुरामा खाद्य सुरक्षा आयोजना

काठमाण्डु टुडे २०७० पुष २३ गते २:१२ मा प्रकाशित

डडेल्धुरा, २३ पुस–खाद्य संकटको उच्च जोखिममा रहेका डडेल्धुराका १० गाविसमा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ । संकटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत कृषि विकास मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा आयोजना सुरु गरेको हो ।

पाँच वर्षभित्रमा खाद्य सुरक्षाको प्रत्याभूति गराउने लक्ष्यका साथ जिल्लाका १० गाविसमा कार्यक्रम सुरु गरेको जनाइएको छ ।

बर्सेनि खाद्य असुरक्षा बढ्दै गएपछि उन्नत बीउ प्रवद्र्धन, साना सिँचाइको विकास, कृषि प्रणालीको आधुनिकीकरण, उन्नत पशुपालन, बजारीकरणमा सुधार लगायतका कार्य थालिएको हो । प्रारम्भिक सर्वेक्षणमा खाद्य सुरक्षाको अवस्था नाजुक रहेका गाविसमा पहिलो चरणमा कार्यक्रम सुरु गरिएको हो ।

उत्पादनमा ह्रास, परम्परागत खेती तथा पशुपालन प्रणाली, बाढीपहिरोको चपेटा, सीप र बजारीकरणको अभाव, सिँचाइ सुविधाको अभाव लगायतका कारणले डडेल्धुरामा खाद्य संकट बढ्दै गइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us